कोलम्बियामा सरकारी विमान दुर्घटना : चालक दलसहित १५ जनाको मृत्यु

एजेन्सी । कोलम्बियाको उत्तरी क्षेत्रमा पर्ने नोर्टे डे सान्तान्डर प्रान्तमा एक विमान दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । बुधबार बिहान भएको उक्त दुखद दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको आधिकारिक स्रोतले पुष्टि गरेको छ ।
सरकारी स्वामित्वमा रहेको ‘साटेना एयरलाइन्स’ को ‘एचके ४७०९’ उडान नम्बरको उक्त सानो विमान कुकुटाबाट ओकानाका लागि उडेको थियो । स्थानीय समयअनुसार बिहान ११ः४२ मा उडान भरेको विमान गन्तव्यमा पुग्नुअगावै पहाडी भेगमा दुर्घटनामा परेको हो । ओकाना क्षेत्र भौगोलिक रूपमा विकट र पहाडै पहाडले घेरिएको स्थान मानिन्छ ।
एयरलाइन्सका अनुसार विमानमा १३ जना यात्रु र दुई जना चालक दलका सदस्य गरी कुल १५ जना सवार थिए । सामान्यतया ४० मिनेटको छोटो दुरीको यो उडानमा विमान अकस्मात दुर्घटनामा परेपछि सरकारी निकायले तत्काल उद्धार टोली परिचालन गरेको थियो । यद्यपि, भौगोलिक कठिनाइ र दुर्घटनाको प्रकृतिले गर्दा कोही पनि जीवित फेला नपरेको उद्धारकर्मीहरूले बताएका छन् ।
विमान के कति कारणले दुर्घटना भयो भन्नेबारे अहिले नै स्पष्ट भइसकेको छैन । कम्पनीले यसबारे थप अनुसन्धान भइरहेको र घटनास्थलमा प्राविधिक टोली पठाइएको जानकारी दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार ओकानाको जटिल पहाडी भू–बनोटका कारण पनि उडानमा समस्या आएको हुनसक्ने अनुमान गरिएको छ ।










