चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

काठमाडौं । एक–अर्को दलका उम्मेदवारबीच आरोप–प्रत्यारोपसहित ‘बोलचाल बन्द’ को स्थितिबाट निर्वाचनमा होमिने गरेका राजनीतिक दल र उम्मेदवारमा यस पटक भने हार्दिकता देखिएको छ ।
वि.सं २०६२/६३ को परिवर्तनपछि कुनै न कुनै रूपमा हुँदै आएको चुनावी तालमेल र मिलिजुली सरकार गठन गर्ने परिस्थितिले पनि एक–अर्काप्रति नजिक्याएकाले पनि हार्दिकता प्रकट गर्ने वातावरण बनाएको अनुमान गरिएको छ ।
नेपाली कम्युनिष्ट पार्टी सिन्धुली निर्वाचन क्षेत्र नं २ का उम्मेदवार लेखनाथ दाहाल एकअर्काे दलको नेता तथा कार्यकर्ताप्रति समेत हार्दिकता देखिँदा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र मितव्ययी तुल्याउन सहयोग पुग्ने धारणा राख्छन् ।
उनी भन्छन्, ‘नेता तथा कार्यकर्ताबीचको हार्दिकता र शालीनताले चुनावी वातावरण सहज तुल्याउँछ । निर्वाचनलाई खर्चका हिसाबले विशिष्टीकृत नतुल्याई सामान्य बनाउन जनतामाझ पुगेर अन्तरसंवाद गर्ने, विश्वास दिलाउने र मत माग्ने कार्य गर्नु नै असल अभ्यास हो ।’
उनका अनुसार राजनीति सङ्ग्लिँदै गएकाले विगतमा पार्टी कमिटीमार्फत जनतामा पुग्ने गरेको उम्मेदवार अहिले प्रत्यक्ष जनता सहभागी हुने परिस्थिति बनेको छ ।
भिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले समेत अरू उम्मेदवारको विचार सुन्ने र बुझ्ने वातावरण मिलेको छ । यसले लोकतान्त्रिक राजनीति संस्कारको विकास भएको देखाउँछ ।
‘अर्कातर्फ ग्रामीण बस्तीमा प्रभाव कम भए पनि निर्वाचनलाई मितव्ययी बनाउन ‘डिजिटल प्लेटफर्म’ प्रयोग गर्न सकिन्छ । जनताले पनि सामाजिक सञ्जालमा कसको उपस्थिति राम्रो रहेछ भनी यकिन गरी त्यसैका आधारमा मूल्याङ्कन हुन थालेको अनुमान गर्न सकिन्छ’, पूर्व सांसद दाहालले भने ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीनेन्द्र रिजाल निर्वाचनको अत्यन्त प्रारम्भिक चरणमा रहेकाले आगामी दिन कसरी अघि बढ्ने भन्ने अहिले नै आकलन गर्न बाँकी नै रहेको बताउछन् ।
उनले भने, ‘सूचना प्रविधिको प्रयोग गर्नुपर्छ भन्ने ठूलो चेतना छ, तर त्यसको प्रयोग कतिको प्रभावकारी हुन्छ ? मतदाता र उम्मेदवारको भेटघाटको सट्टामा काम गर्छ, अहिलेको आकलन गर्न सकिन्न ।’
सहरी क्षेत्रमा सामाजिक सञ्जालको प्रयोग महत्त्वपूर्ण हुने उल्लेख गर्दै नेता रिजालले गाउँघरमा भने मतदाता उम्मेदवारलाई देख्न र भेट्न चाहने बताए । उनले मोरङ क्षेत्र नं १ बाट उम्मेदवारी दिएका छन् ।
त्यसैगरी गुल्मी निर्वाचन क्षेत्र नं १ मा एमाले नेता प्रदीप ज्ञवाली र कांग्रेस नेता चन्द्र भण्डारीले त्यसखाले संस्कार प्रस्तुत गर्दै आएका थिए । यस्तै झापामा माओवादी नेता राम कार्की र कांग्रेस नेता विश्वप्रकाश शर्माले पनि एक अर्काप्रति लोभलाग्दो सम्मान व्यक्त गर्दा सबैबाट प्रशंसा भएको थियो ।
नेकपा (एमाले) सर्लाही क्षेत्र नं ३ का उम्मेदवार हरिप्रसाद उप्रेती निर्वाचन प्रचारप्रसारमा सामाजिक सञ्जाल र प्रविधिको प्रयोग बढेको प्रतिक्रिया दिन्छन् । उनी भन्छन्, ‘कतिपय उम्मेदवारको स्वभावमा पनि भर पर्ने भएकाले हार्दिकताको विषय त्यससँग जोडिन्छ । तर असल राजनीतिक संस्कार अघि बढेको छ, जसले समाजलाई सकारात्मक सन्देश प्रवाह गरेको छ ।’
पूर्वमन्त्री उप्रेतीका अनुसार, चुनावमा खर्च गर्ने प्रवृत्तिमा सुधार आवश्यक छ । गाउँ र समाजको संरक्षण गरेर बसेका निष्ठावान्, सम्पत्ति नभएका मानिस प्रतिस्पर्धा गर्न पाउनुपर्छ ।
त्यस्ता व्यक्ति नीति निर्माण तहमा पुग्नुपर्छ । राज्यले त्यस्तो वातावरण गर्न सकेन भने राज्य ठिक ढङ्गले अघि बढ्न सक्दैन । मुख्य कुरा निर्वाचनमा खर्च गर्न नपर्ने प्रणालीको विकास गर्नुपर्ने छ ।
राष्ट्रिय जनता दल नेपालका तर्फबाट सर्लाही क्षेत्र नं १ का उम्मेदवार रामप्रकाश चौधरी यसअघिको निर्वाचनमा एक अर्कालाई देखे÷नदेखेजस्तो गर्ने प्रवृत्ति अहिले आफूले महसुस नगरेको बताउछन् । ‘पहिलेजस्तो तनाव र पानी बाराबारको स्थिति अहिले छैन, हार्दिकता साटासाट गरेर नै चुनावी माहोल अघि बढिरहेको छ । विगतको जस्तो जुलुस लिएर घर दैलो गर्ने कार्य निकै कम छ’, उनले भने, ‘जनताका केही गुनासो छ । पाँच वर्षका लागि पठाएको किन फर्केर आएको भन्ने प्रश्न सुन्न परेको छ ।’
जिल्लाका मतदाता प्रविधिसँग अभ्यस्त नभइसकेकाले सम्पूर्ण चुनावमा प्रविधिमय भइहाल्छ भन्ने हुन्न । सहरी क्षेत्रमा यसको सदुपयोग र दुरुपयोग दुवै छ । असल अभ्यासलाई आत्मसात् गर्नुपर्छ तर प्रविधिको प्रयोगको पाटोमा जाँदा त्यसमा पनि खर्च गर्नुपर्ने अवस्था छ ।
नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट बर्दिया निर्वाचन क्षेत्र नं १ का उम्मेदवार अब्दुल खान जिल्लाका सबै निर्वाचन क्षेत्रमा भाग लिने राजनीतिक दल र उम्मेदवारबीच सौहार्दता रहेको बताए ।
उनी भन्छन्, ‘एकले अर्काप्रति आरोप प्रत्यारोप नगरी जनता नै सर्वाेपरि हुन् भन्ने भावनाले मतदाता भेटघाट चलाएको र निर्वाचनको तयारीमा जुटिरहेको अवस्था छ ।’
उम्मेदवारी दर्ता गराउँदा कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमुक्ति पार्टीका उम्मेदवारले सँगै उभिएर तस्बिर खिचाएको दृष्टान्त दिँदै उनले भने, ‘जनताको हातमा फैसला छ, जनता निकै सचेत छन्, निर्णय गर्न जनतालाई छाडेका छौँ । हामीबीच कुनै तिक्तता छैन ।’ निर्वाचनको प्रसारप्रसारमा सामाजिक सञ्जालले धेरै सजिलो पु¥याए पनि केही व्यक्तिले त्यसको दुरुपयोग गरी व्यक्ति विशेषलाई लक्षित गरी बदनाम गर्ने प्रवृत्ति सच्याउनुपर्ने उनको भनाइ छ ।








