हिउँको घुम्टोमा पश्चिम पहाड (तस्बिरहरू)

काठमाडौं । मंगलबार रातिदेखि मौसममा आएको बदलीसँगै मुलुकका विभिन्न उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा भारी हिमपात भएको छ । मुस्ताङदेखि सुदूरपश्चिमका बैतडी र बाजुरासम्मका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन् । हिमपातका कारण अत्यधिक चिसो बढेर जनजीवन प्रभावित बने पनि हिउँदे बाली सप्रने आशमा कृषकहरू भने उत्साहित देखिएका छन् ।

मुस्ताङमा मंगलबार रातिदेखि नै भारी हिमपात भएको छ । मुस्ताङका अधिकांश स्थानमा वर्षा र हिमपातका कारण कागबेनी–कोरला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ ।

त्यसैगरी, कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटमा पनि बाक्लो हिमपात भइरहेको छ । हुम्लाको सदरमुकाम सिमकोटसहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिमपातका कारण सिमकोट विमानस्थलबाट हुने हवाई सेवा अवरुद्ध हुनाका साथै लिमी, न्यालु, यारी र हिल्सा जोड्ने सडकहरू बन्द भएका छन् ।

सुदूरपश्चिमको बैतडी र बाजुरामा बुधबार बिहानैदेखि बाक्लो हिमपात भएको छ । बैतडीका सिगास, खोडपे, अनारखोली र ढोल्यामोड क्षेत्र हिउँले पुरिएका छन् । बाजुराका बडीमालिका, बुढीगङ्गा, हिमाली र गौमुल लगायतका स्थानीय तहका लेकाली भेगमा हिउँ परेको छ । हिमपातका कारण हिमाली गाउँपालिकाको विच्छ्या, रुगिन र बाधु लगायतका क्षेत्रको जनजीवन नराम्ररी प्रभावित भएको छ ।

यता गण्डकी प्रदेशको बागलुङस्थित ढोरपाटन उपत्यका पनि हिउँले सेताम्मे बनेको छ । चिसोका कारण धारामा पानी जमेको छ भने स्थानीयलाई हिँडडुल गर्नसमेत कठिन भएको छ । निसीखोलाको रिग र पातीहाल्ने क्षेत्रमा पनि बाक्लो हिउँ जमेको छ ।

हिमपातले सर्वसाधारणको दैनिकी कष्टकर बनाए पनि कृषि क्षेत्रका लागि भने यो वरदान सावित भएको छ । लामो समयको खडेरीपछि भएको हिमपात र वर्षाले हिउँदे बाली सप्रने कृषि विज्ञहरूको भनाइ छ ।

मुस्ताङको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीका अनुसार हिउँ परेसँगै स्याउ, उवा, फापर र जौ बालीलाई ठूलो राहत पुगेको छ । त्यस्तै, बाजुराका कृषि ज्ञान केन्द्र प्रमुख जसीराम सहानीले वर्षा र हिमपातले गहुँ बाली सप्रने बताए । बैतडी र बागलुङका किसानहरू पनि यो वर्ष गहुँ र आलुको उत्पादन बढ्नेमा ढुक्क देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 20 =