हिमआँधीका बीच अमेरिकामा ८ जना सवार निजी जेट दुर्घटना

न्युयोर्क । अमेरिकाको उत्तरपूर्वी राज्य मेनमा प्रतिकूल मौसमका बीच एउटा निजी विमान दुर्घटनामा परेको छ । बाङ्गोर सहरस्थित बाङ्गोर अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार साँझ ‘बम्बार्डियर च्यालेन्जर ६५०’ मोडेलको व्यावसायिक विमान दुर्घटनाग्रस्त भएको हो ।

विमानस्थल प्रशासनका अनुसार स्थानीय समयअनुसार आइतबार साँझ करिब पौने ८ बजे विमान उडान भर्ने क्रममा (टेकअफ) दुर्घटनामा परेको थियो । उक्त विमानमा चालक दलका सदस्यसहित ८ जना सवार रहेको अमेरिकी संघीय उड्डयन प्राधिकरण (एफएए) ले पुष्टि गरेको छ । दुर्घटनामा परेका व्यक्तिहरूको पछिल्लो अवस्था र क्षतिको विस्तृत विवरण भने अझै सार्वजनिक गरिएको छैन ।

दुर्घटनाको समयमा सो क्षेत्रमा भीषण हिमआँधी चलिरहेको र तापक्रम शून्यभन्दा निकै तल रहेको बताइएको छ । हल्का हिमपातका कारण ‘भिजिबिलिटी’ अत्यन्तै कम भएकाले उडानका क्रममा विमान अनियन्त्रित भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि, दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन एफएए र राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसी) ले संयुक्त रूपमा अनुसन्धान सुरु गरेका छन् ।

दुर्घटना लगत्तै विमानस्थलमा आपतकालीन उद्धार टोली परिचालन गरिएको थियो । सुरक्षा र उद्धार कार्यलाई मध्यनजर गर्दै बाङ्गोर विमानस्थललाई अस्थायी रूपमा बन्द गरिएको छ । संघीय अभिलेखअनुसार दुर्घटनाग्रस्त सो निजी जेट टेक्सासको ह्युस्टनमा दर्ता रहेको एक ‘लिमिटेड लायबिलिटी कम्पनी’ (एलएलसी) को स्वामित्वमा रहेको खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 14 =