देश बचाउने र बनाउने संकल्पका साथ उम्मेदवारी दिएको छु: रविन्द्र मिश्र

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफू आगामी निर्वाचनमा विजयी हुने दाबी गरेका छन् ।
मङ्गलवार काठमाडौँको क्षेत्र नम्बर १ मा उम्मेदवारी मनोनयनका लागि पुगेका उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् ।
वरिष्ठ उपाध्यक्ष मिश्रले पृथ्वीनारायण शाहले आधुनिक नेपालको निर्माण गरेको उल्लेख गर्दै आफू सोही पथमा हिँडेको र देश बचाउने र बनाउने दुवै सङ्कल्प लिएको बताए । उनले काठमाडौँका जनताले आफूलाई गर्व गर्न लायक हुने गरी आगामी निर्वाचनमा विजयी गराउनेमा विश्वस्त रहेको जिकिर समेत गरे ।
यस अघि सो क्षेत्रमा झिनो मतान्तरले हार व्यहोर्नु परेपनि आगामी निर्वाचनमा जनताले आफूलाई गर्व गर्न लायक सांसद बनाउने बताए ।
उनले भने ‘मैले यो पटक पृथ्वीनारायण शाहबाट प्रेरणा लिएका छु । उहाँले तेस्रो पटक काठमाडौँ विजय गरे । मैले तेस्रो पटक काठमाडौँ क्षेत्र नम्बर १ मा विजय हासिल गर्ने हो । पृथ्वीनारायण शाहले देशको निर्माण गरे । देशको गौरव बने । म पृथ्वीनारायण शाहले निर्माण गरेको पृथ्वीपथमा हिँडेर यो देशलाई बनाउन र बचाउन अग्रसर हुने हो । यो क्षेत्रका जनताले म सांसद हुँदाखेरि सबै भन्दा बढी गर्व गर्न योग्य सांसद बनाउँनेछन भन्ने कुरामा म ढुक्क छु ।’
त्यस अवसरमा वरिष्ठ उपाध्यक्ष मिश्रले मुलुकलाई सङ्कटबाट जोगाउन राजसंस्थासहितको शासन व्यवस्था आवश्यक रहेको अडान पनि राखे ।








