देउवा पक्षको रिटमा पेसी तोकियो

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक शक्ति सङ्घर्ष र आधिकारिकताको विवाद अब सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइपुगेको छ । विशेष महाधिवेशनमार्फत गगन थापा नेतृत्वको समितिलाई निर्वाचन आयोगले दिएको आधिकारिकतालाई चुनौती दिँदै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ हुने भएको हो ।

सर्वोच्च अदालतले उक्त विवाद निरूपणका लागि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकेको छ । निवर्तमान सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबार सर्वोच्चमा रिट दर्ता गराएका थिए । रिटमा निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण रहेको र पार्टीको विधान मिचेर गरिएको विशेष महाधिवेशनलाई मान्यता दिनु कानुनविपरीत भएको जिकिर गरिएको छ ।

देउवा पक्षको मुख्य दाबीअनुसार, पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल बाँकी छँदै विधान विपरीत अर्को विशेष महाधिवेशन आयोजना गरिएको हो । ‘विधानले तोकेको अवधि बाँकी छँदै हचुवाका भरमा गरिएको महाधिवेशनलाई निर्वाचन आयोगले आधिकारिकता दिनु लोकतान्त्रिक मूल्य र दलीय कानुनको बर्खिलाप हो,’ रिटमा भनिएको छ ।

देउवा समूहले साविककै कार्यसमितिलाई आधिकारिकता कायम राख्न र आयोगको पछिल्लो निर्णय बदर गर्न माग गरेको छ । आइतबार नै पेसी चढाउन खोजिए पनि प्रशासनिक प्रक्रियाका कारण मंगलबारका लागि समय तय भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 8 =