नेपाली काँग्रेस संस्थापन पक्षधरहरूको निर्वाचन आयोगमा धर्ना (तस्बिरहरू)

काठमाडौँ । नेपाली काँग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।

विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा नेतृत्वको समूहले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षधरहरूले पनि आयोग परिसरमा धर्ना तथा विरोध प्रदर्शन गरेका हुन् ।

शुक्रवार दिउँसो संस्थापन पक्षका नेता तथा कार्यकर्ताहरू आयोग अगाडि भेला भई धर्नामा बसेका थिए । उनीहरूले गगन थापा पक्षको विशेष महाधिवेशनलाई अवैध भएको तर्क गर्दै आधिकारिकता आफूहरूसँगै रहेको दाबी गरेका छन् । यसअघि गगन थापा समूहले पनि आयोगमा धर्ना दिएको थियो । दुवै पक्षको उपस्थितिका कारण आयोग परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ ।

बिहीबार गगन थापा नेतृत्वको समूहले केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निवेदन दिएको थियो भने शुक्रवार बिहान संस्थापन पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूले आफूहरू नै आधिकारिक भएको दाबी गर्दै निवेदन पेस गरेका थिए । निर्वाचन आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, काँग्रेसको विधान र विगतका नजिरका आधारमा निर्णय गर्ने जनाएको छ ।

काँग्रेसको यो विवादले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई समेत प्रभावित पार्ने आशंका गरिएको छ । दुवै पक्षले आ–आफ्नो दाबी बलियो बनाउन आयोगमा दबाब बढाइरहेका छन् । आयोगले छिट्टै यस विषयमा निर्णय लिने अपेक्षा गरिएको छ ।

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =