आरजु राणा देउवा स्वदेश फर्किइन्, भारत भ्रमणको रहस्य कायमै

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा भारतको नयाँ दिल्लीबाट स्वदेश फर्किएकी छन् ।
गत पुस २१ गते भारत प्रस्थान गरेकी उनी बुधबार साँझ नेपाल एयरलाइन्सको नियमित उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् ।
आरजुको भारत भ्रमणको क्रममा उनले को–कोसँग भेटघाट तथा छलफल गरिन् भन्ने विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन । ‘उहाँ नेपाल एयरलाइन्सको विमानबाट आज फर्किनुभएको हो,’ विमानस्थल निकट स्रोतले भन्यो ।
आरजु राणा देउवा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमतीसमेत हुन् । पार्टीभित्रको वर्तमान आन्तरिक संकट र विशेष महाधिवेशनको विवाद चर्किरहेको समयमा उनको भारत भ्रमणलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको थियो ।
विशेषगरी संस्थापन पक्ष र गगन थापा–विश्वप्रकाश शर्मा नेतृत्वको विशेष महाधिवेशन पक्षबीचको टकरावका बीच यो भ्रमणको उद्देश्यबारे विभिन्न अनुमान गरिएका थिए ।
तर, स्वदेश फर्किए पनि भ्रमणको औपचारिक विवरण वा भेटघाटका विषयमा कुनै खुलासा नहुँदा रहस्य थप गहिरिएको छ ।
कांग्रेसका केही नेताहरूले यसलाई निजी भ्रमणका रूपमा व्याख्या गरे पनि राजनीतिक विश्लेषकहरूले पार्टीको आन्तरिक एकता र संकट समाधानका लागि कुनै अप्रत्यक्ष प्रयास हुन सक्ने सम्भावना औंल्याएका छन् ।









