सुमन सायमीले रोजे नेकपा, काठमाडौं-८ बाट चुनाव लड्ने तयारी

काठमाडौं । गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर चर्चामा आएका सुमन सायमी अन्ततः दलीय राजनीतिमा समाहित हुने भएका छन् । सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीको समूह र नेपाल कम्युनिस्ट पार्टीबीच बुधबार (आज) औपचारिक रूपमा पार्टी एकता हुँदैछ ।

एकता घोषणा सभा आज दिउँसो १ बजे काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको छ । उक्त कार्यक्रममार्फत सायमीसहित राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ नेताहरू, सहकारी पीडित तथा बागमती नदी किनारको मापदण्डविरूद्ध संघर्षरत अभियन्ताहरू पनि कम्युनिस्ट पार्टीमा प्रवेश गर्दैछन् ।

पछिल्लो समय ‘वैकल्पिक शक्ति’ भन्दै उदाएका दलहरूप्रति आक्रामक टिप्पणी गर्दै आएका सायमीले आफ्नो एजेन्डा कम्युनिस्ट पार्टीसँग मिलेकाले एकता गर्न लागेको प्रष्ट पारेका छन् । उनले भने, ‘त्याग र तपस्याबिनै आफूलाई प्रधानमन्त्री घोषणा गर्ने र सदनलाई केवल रंगमञ्च बनाउने प्रवृत्तिविरुद्ध हामी एकताबद्ध हुन लागेका हौं ।’

कालिमाटी क्षेत्रका रैथाने बासिन्दा सायमीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने तयारी समेत गरेका छन् । उनले गत स्थानीय निर्वाचनमा आँखीझ्याल चिह्न लिएर स्वतन्त्र रूपमा मेयर पदमा प्रतिस्पर्धा गर्दा १३ हजार ७ सय ७० मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + fourteen =