निर्णय गर्ने अधिकार विशेष महाधिवेशनको हललाई मात्रै छः गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र देखिएका समस्याहरुको विषयमा निर्णय गर्ने अधिकार विशेष महाधिवेशनको हललाई मात्र भएको बताएका छन् ।
मंगलवार भृकुटिमण्डपमा महाधिवेशनको बन्दसत्रको हललाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
उनले पार्टीभित्र देखिएको विवादको सम्बनधमा संवाद जारी रहेपनि महाधिवेशनको हल बाहिर गएर टुंगिन नसक्ने टिप्पणी गरेका हुन् ।
उनले पार्टी निर्वाचनसम्बन्धी कार्यक्रमहरु अघि बढिसकेको उल्लेख गर्दै ती कार्यक्रमहरु स्थगित नहुने स्पष्ट पारे ।
उनले पार्टीभित्र टिकट वितरणको विषयमा बार्गेनिङ भइरहेको भनि फैलाइएको हल्लाप्रति आपत्ति पनि जनाए ।
हजारौँ प्रतिनिधि दुई दिनदेखि पार्टी सुधारका विषयमा मन्थन गरिरहेको भन्दै महामन्त्री थापाले यसलाई टिकटको स्वार्थसँग जोडेर अपमान गर्ने प्रयास नगर्न चेतावनी दिए ।
उनले पार्टीलाई सही दिशामा लैजान नेतृत्व र नीति दुवै परिवर्तन गर्न गरिने दोहार्याए ।









