बालेनको इन्ट्रीले भत्किएला ओलीको लालकिल्ला ?

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी अहिलेदेखि नै ह्वात्तै बढेको छ । देशैभर चुनावी माहोल तातिँदै गर्दा सबैको नजर भने पूर्वी नेपालको झापा क्षेत्र नम्बर ५ तर्फ सोझिएको छ । जहाँ नेपाली राजनीतिका ‘भेट्रान’ खेलाडी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र युवा पुस्ताको समर्थन पाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लड्ने चर्चा चुलिएको छ ।
बालेनलाई रास्वपाले प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार भनेको छ । पछिल्लो समय बालेनले सामाजिक सञ्जालमा ‘शुभकामना सबैलाई, हामी आउँदै छौं’ भन्दै लेखेकाे स्ट्याटसलाई झापा-५ मा उम्मेदवारी दिने संकेतका रूपमा अर्थ्याइएको छ । यदि बालेन झापा-५ को चुनावी मैदान उत्रिए भने केवल एक संसदीय सिटको हारजितमा मात्र सीमित हुनेछैन, यो दुई पुस्ता, दुई फरक राजनीतिक शैली र भविष्यको प्रधानमन्त्री को बन्ने भन्ने निर्णायक लडाइँ बन्नेछ ।
अंकगणितमा ओलीको दबदबा, मनोविज्ञानमा बालेनको क्रेज
‘ओली भर्सेस बालेन’ को चर्चा जति रोमाञ्चक छ, धरातलीय यथार्थ भने बालेनका लागि निकै चुनौतीपूर्ण देखिन्छ । झापा-५ एमाले अध्यक्ष ओलीको सुरक्षित गढ मानिन्छ । २०७९ सालको निर्वाचन परिणामलाई आधार मान्ने हो भने, ओलीलाई पराजित गर्नु बालेनका लागि ‘फलामको च्युरा’ चपाउनु सरह हुनेछ ।
तथ्यांक बोल्छ- अघिल्लो निर्वाचनमा ओलीले ५२ हजार ३ सय ११ मत ल्याएर शानदार जित हासिल गर्दा रास्वपाका उम्मेदवार सुरेशकुमार पोखरेल ११ हजार ७ सय ५९ मतसहित तेस्रो स्थानमा खुम्चिएका थिए । कांग्रेस उम्मेदवारले २३ हजार ७ सय ४२ मत ल्याएका थिए । अर्थात्, ओलीको मत रास्वपाको भन्दा चार गुणा बढी थियो ।
तर, बालेन पक्षको आत्मविश्वासको आधार भने २०७९ को समानुपातिक मत र बदलिएको राजनीतिक परिदृश्य हो । प्रत्यक्षतर्फ रास्वपा तेस्रो भए पनि समानुपातिकतर्फ १८ हजार २ सय ५ मत ल्याएर रास्वपा झापा-५ मा कांग्रेसलाई पछि पार्दै दोस्रो शक्ति बनिसकेको छ । त्यसमाथि, पछिल्लो समय ‘जेनजी’मा देखिएको राजनीतिक चेतना र परम्परागत दलप्रतिको वितृष्णाले चुनावी बाजी पल्टिन सक्ने विश्लेषण रास्वपा वृत्तको छ ।
यो चुनाव दुवै नेताका लागि ‘गर या मर’ को स्थितिमा छ । चारपटक प्रधानमन्त्री भइसकेका ओलीका लागि यो चुनाव जित्नैपर्ने बाध्यता छ । यो जितले उहाँलाई पाँचौँ पटक प्रधानमन्त्रीको कुर्सीमा पुर्याउन सक्छ भने हारले उनको लामो राजनीतिक यात्रामा अनपेक्षित ‘पूर्णविराम’ लगाउन सक्छ । ओलीको हार केवल एक व्यक्तिको हार नभई एमालेको गढ भत्किएको सन्देश जाने हुँदा एमाले पंक्तिले यसलाई प्रतिष्ठाको विषय बनाउने निश्चित छ ।
अर्कोतर्फ, काठमाडौंको मेयर हुँदै राष्ट्रिय राजनीतिमा होमिन लाग्नुभएका बालेनका लागि यो ‘करियर-डिसाइडिङ’ मोड हो । रास्वपा सभापति रवि लामिछानेको साथ र ‘बालेन म्यानिया’ को बलमा झापा पुग्न लागेका बालेनले यदि पराजय भोग्नुपरेमा उनको प्रधानमन्त्री बन्ने सपनामा सुरुवातमै ठूलो धक्का लाग्नेछ ।
राजनीतिक विश्लेषकहरूका अनुसार, संगठन र पुरानो विरासतका हिसाबले केपी ओली अझै पनि सुरक्षित जोनमा देखिन्छन् । तर, राजनीति सधैं अंकगणितमा मात्र चल्दैन । ‘नो नट अगेन’ को नारा, युवा पुस्ताको विद्रोह र बालेनको व्यक्तिगत छविले झापाको मतपेटिकामा आँधी ल्याउन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । तर यसको छिनोफानो भने आगामी २१ फागुनको नतिजाले नै गर्नेछ ।









