राष्ट्रियसभा निर्वाचन : प्रचण्डको ‘यु-टर्न’ले खलबलियो समीकरण, कांग्रेस-एमाले मात्रै मिल्ने तयारी

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय सुरु भइसक्दा पनि प्रमुख राजनीतिक शक्तिहरूबीच सिट बाँडफाँटको सकस हटेको छैन । अन्तिम समयमा आएर नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पूर्वसहमतिबाट पछि हट्दै बढी सिटको दाबी गरेपछि दलीय तालमेलको प्रयासमा गाँठो परेको हो ।
आगामी माघ ११ गते हुने निर्वाचनका लागि आज (बुधबार) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । तर, उम्मेदवारी दर्ताको ‘डेडलाइन’ नजिकिँदै गर्दा दलहरूबीच सहमति भने टाढिएको छ । प्रारम्भिक चरणमा नेपाली कांग्रेस र एमालेलाई ७-७ सिट, नेपाली कम्युनिस्ट पार्टीलाई ३ र जसपा नेपाललाई १ सिट दिने गरी मोटामोटी सहमति जुटेको थियो । तर, पछिल्लो छलफलमा संयोजक प्रचण्डले ३ सिटमा चित्त बुझाउन नसकिने भन्दै कम्तीमा चार सिटको दाबी पेस गरेपछि वातावरण बिग्रिएको हो ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रचण्डको फेरिएको बोलीका कारण सहमतिमा ढिलाइ भएको पुष्टि गरे । ‘प्रचण्डजी सुरुमा ३ सिटमा सहमत हुनुहुन्थ्यो, तर अहिले फेरि हामीलाई यतिले पुग्दैन भन्दै थप सिट माग्नुभएको छ,’ डा. महतले भने, ‘उहाँको अडानले गर्दा टुंगोमा पुग्न सकिएको छैन ।’
मंगलबार मात्रै प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै ‘कसैसँग तालमेल नहुने’ अभिव्यक्ति दिएका थिए । तर, कांग्रेस-एमालेका नेताहरूले भने सिट बढाउनका लागि प्रचण्डले बार्गेनिङ गरिरहेको रूपमा बुझेका छन् ।
कांग्रेस-एमालेको ‘प्लान बी’
प्रचण्डले आफ्नो अडान नछोडेको खण्डमा कांग्रेस र एमाले दुई दल मात्रै मिलेर जाने ‘प्लान बी’ मा छलफल सुरु भएको छ । प्रचण्ड सहमतिमा नआए कांग्रेसले १० र एमालेले ८ सिट बाँडफाँट गरेर अघि बढ्ने विकल्पमा दुई ठूला दलबीच सघन छलफल भइरहेको हो ।
राष्ट्रियसभाका १९ सांसदको कार्यकाल सकिँदैछ । जसमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् भने बाँकी १८ सिटका लागि निर्वाचन हुन लागेको हो ।









