नवप्रवर्तन र अनुसन्धान नेपालको समृद्धिको साँचो होः शिक्षामन्त्री पुन

काठमाडौँ । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नवप्रवर्तन र अनुसन्धान नेपालको समृद्धिको साँचो भएको बताएका छन् ।
बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले आधुनिक नवप्रवर्तन र अनुसन्धान नेपालको मात्र नभई विश्वको समृद्धिको साँचो भएको बताए । प्रयोगशाला र कार्यशालाहरूलाई अर्थतन्त्रसँग जोड्ने दृढ अर्जुनदृष्टि राख्न जरुरी रहेको बताए ।
विश्वविद्यालय अब केबल पढाउने शिक्षण संस्था मात्र भएर नपुग्ने भन्दै त्रिभुवन विश्वविद्यालयमा रहेका व्यवहारिक ज्ञान, विज्ञानका कुराहरू नवप्रवर्तनात्मक अनुसन्धानलाई आत्मसाथ गर्ने आत्मनिर्भर अर्थतन्त्र निर्माणको मुटु बनाउनुपर्ने बताए ।
उनले भने ‘आधुनिक नवप्रवर्तन र अनुसन्धान नेपालको समृद्धिको साँचो हो । नेपालको मात्र होइन विश्वको समृद्धिको साँचो हो । त्यहाँका र हाम्रा युवाहरूको हातमा छ । जसले हाम्रो प्रयोगशाला र कार्यशालाहरूलाई अर्थतन्त्रसँग जोड्ने दृढ अर्जुनदृष्टि राखेका छन् । विश्वविद्यालय अब केबल पढाउने शिक्षण संस्था मात्र भएर पुग्दैन । त्रिभुवन विश्वविद्यालयमा हामीले देखेका छौँ, व्यवहारिक ज्ञान, विज्ञानका कुराहरू नवप्रवर्तनात्मक अनुसन्धानलाई आत्मसाथ गर्ने आत्मनिर्भर अर्थतन्त्र निर्माणको मुटु बन्नुपर्छ । दुर्भाग्यवश हाम्रो त्रिभुवन विश्वविद्यालयभित्र रहेको चार वटा अनुसन्धान केन्द्रहरू अपाङ्ग भएको स्थितिमा छ । यसलाई सकेसम्म अघि बढाउन प्रयत्न गर्नुपर्दछ ।’
मन्त्री पुनले अनुसन्धान केन्द्रहरू भविष्यमा आउनसक्ने समस्याको पहिचान गरी समाधान गर्न सक्ने थलो भएको बताए ।









