बाइक दुर्घटनामा क्रिकेटर थापाको मृत्यु, पारस खड्काद्वारा दुःख व्यक्त

विराटनगर । क्रिकेटर कोशी प्रदेशका प्रभावशाली खेलाडी मिनष थापाको असामयिक निधन भएको छ । बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा २७ वर्षीय थापाको निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, बिहीबार बिहान करिब पौने १ बजेतिर घटना भएको हो । विराटनगर-४ स्थित भित्री सडकखण्डमा एयरपोर्ट लाइनबाट गणेश चोक तर्फ जाँदै गर्दा थापा सवार प्रदेश १-०२-०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

मोरङका प्रहरी प्रमुख एवं एसपी कवित कटवालले दिएको जानकारी अनुसार, दुर्घटना लगत्तै गम्भीर अवस्थामा रहेका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्‍याइएको थियो । तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

कोशी प्रदेशको टोलीबाट निरन्तर राष्ट्रिय प्रतियोगिताहरू खेल्दै आएका थापाको निधनले नेपाली क्रिकेट जगत शोकमग्न भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा पूर्व कप्तान पारस खड्काले थापाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै खड्काले भनेका छन्, ‘अत्यन्तै दु:खद खबर । कोशी प्रदेशका कुशल तथा अत्यन्त प्रतिभाशाली क्रिकेट खेलाडी भाइ मिनष थापाको दुर्घटनामा परी असामयिक निधन भएको खबरले हामी सबैलाई गहिरो शोक र स्तब्धतामा पारेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =