बैंकमा कार्यरत कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्नेलाई कारबाही हुन्छ: नेपाल राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्ने तथा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही हुने
बताएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै बैंकले हालैका दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाहरूका सम्बन्धमा बैंकको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएको हो ।

बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र यस बैंकको निर्देशनको अधीनमा रही कर्जा प्रवाह गर्नु, प्रवाह गरेको कर्जा सम्बन्धी परियोजनाहरूको अनुगमन गर्नु र कर्जा असुलउपर गर्नु सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्य भएको जानकारी दिएको छ ।

‘बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट निक्षेप सङ्कलन गरी कर्जा प्रवाह गर्ने भएकोले कर्जा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न नसक्ने, तरलतामा प्रभाव पर्ने हुँदा ऋणीले लिएको कर्जा भुक्तानी नियमित रूपमा गर्नुपर्ने हुन्छ । यद्यपि, कुनै प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा परेको असहजतालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले समय–समयमा पुनर्संरचना तथा पुनरतालिकीकरण गर्न सक्ने लगायतका व्यवस्था गरी सहजीकरण गर्दै आएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

साथै बैंकले बैंकिङ्ग कारोबार सम्बन्धमा कुनै गुनासो भएमा सम्बन्धित संस्था र यस बैंकमा गुनासो सुनुवाइको व्यवस्था रहेकोले ग्राहकलाई मर्का परेको भन्ने लागेमा सोको गुनासो गर्न र समाधान गर्न सकिने व्यवस्था रहेको समेत उल्लेख छ ।

बैंकले वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीलाई मनोबल उच्च राखी कार्य गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 17 =