करेन्ट नूडल्सू अब ग्रीन इनर्जीबाट बनाइने : यशोदा फूड्स

काठमाडौं । करेन्ट नूडल्सकाे निर्माता यशोदा फुड्सले चन्द्रौटा, कपिलवस्तुस्थित उत्पादन केन्द्रमा ८६५ kWp क्षमताको रूफटप सौर्य ऊर्जा प्रणाली जडान गरेर नेपालकै पहिलो ‘ग्रीन नूडल्स’ उत्पादन गर्ने उद्योगको पहिचान बनाएको छ । नोभेम्बर २३ देखि सञ्चालनमा आएको उक्त प्रणालीबाट उद्योगले स्वच्छ तथा नवीकरणीय ऊर्जा प्रयोग गर्दै नूडल्स उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ ।

नेपालको नूडल्स उद्योगमै पहिलोपटक छानामाथि सौर्य ऊर्जा प्रयोग गरेर उत्पादन सुरु गरेको यशोधा फुड्सले यसले करेन्ट नूडल्सलाई दिगो उत्पादन तर्फ लैजाने बताएको छ । कम्पनीका अनुसार यस प्रणालीले उद्योगको झण्डै ८० प्रतिशत विद्युत् आवश्यकता पूरा गर्नेछ भने विद्युत् खर्च ६५ प्रतिशतसम्म घट्ने अपेक्षा गरिएको छ ।

यस्तै छानामा प्रयोगविहीन स्थानको सदुपयोग, कार्बन उत्सर्जनमा उल्लेखनीय कमी र दीर्घकालीन लागत बचत यस परियोजनाका अतिरिक्त फाइदा रहेको बताइएको छ।

उद्योगको रूफटप सोलार परियोजनाको इन्जिनियरिङ, खरिद र निर्माण (EPC) कार्य प्राइम रिन्युएबल्स प्रा. लि.ले तीन महिनाको अवधिमा सम्पन्न गरेको हो । उक्त परियोजना एनएमबि बैंकले वित्तपोषण गरेको छ भने AEPC–जर्मन DKTI परियोजनाअन्तर्गत व्याज अनुदान उपलब्ध भएको छ ।

कम्पनीका अनुसार परियोजनामा उच्च दक्षताका बाइफेसियल प्यानल र AI आधारित स्मार्ट इनर्भर्टर प्रयोग गरिएको छ ।

उद्घाटन समारोहमा यशोधा फुड्सका ग्लोबल कार्यकारी निर्देशक जी. पी. साहले सौर्य प्रणालीले वार्षिक एक मिलियन युनिटभन्दा बढी विद्युत् उत्पादन गर्ने र करिब २ हजार टन कार्बन उत्सर्जन कटौती हुने बताए । “यसले हाम्रो उत्पादन लागत घटाएर ग्राहक र सरोकारवालालाई थप मूल्य प्रदान गर्नेछ,” उनले भने ।

AEPC का कार्यक्रम प्रमुख सन्तोष राईले उद्योगहरूले नवीकरणीय ऊर्जा अपनाउन थालेको प्रसङ्ग उल्लेख गर्दै यस्तो परियोजना नेपालमा औद्योगिक डिकार्बोनाइजेशनतर्फको मार्ग प्रशस्त हुने बताए ।

“सरकार र जर्मन सहयोगको संयोजनले यस्ता परियोजनालाई विस्तार र प्रवर्द्धन गर्न ठूलो भूमिका खेलिरहेको छ,” उनले भने ।

हाल नेपालमा ५० भन्दा बढी उद्योगले २५ मेगावाट क्षमताको रूफटप सोलार जडान गरिसकेको AEPC का अधिकारीहरूको भनाइ उद्धृत गर्दै, यस्ता प्रणालीले बजारमा सस्तो ऊर्जा उपलब्ध गराउने र सुख्खा याममा जलविद्युतमा पर्ने दबाब कम गर्ने उल्लेख गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको नेट–मिटरिङ सुविधाका कारण उद्योगले प्रयोग नभएका बेला अतिरिक्त ऊर्जा राष्ट्रिय प्रसारण line मा प्रवाह गर्न सक्ने व्यवस्था छ ।

उद्घाटन कार्यक्रममा AEPC का परियोजना प्रबन्धक सन्तोष राई, सोलार रूफटप संयोजक निरज सापकोटा र प्रमुख लेखा नियन्त्रक तारा प्रसाद पोखरेलको उपस्थिति रहेको थियो ।

यशोदा फुड्सका अध्यक्ष जीपी शाह, इन्जिनियरिङ प्रमुख शिव राज, चन्द्रौटा प्लान्टका प्रमुख र प्राइम रिन्युएबल्स प्रा. लि.का अध्यक्ष आशिष गर्ग, वरिष्ठ विद्युतीय इन्जिनियर अभिषेष दाहाल, परियोजना अधिकृत योगेश विष्टको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =