हामी दुवैको विगत थियो: अभिनेत्री शाह

काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो खुशीको मजाक उडाउन बन्द गर्न भन्दै सबैमा आग्रह गरेकी छन् ।
बिहीबार उनले सामाजिक सञ्जालमा एक स्टोरी सेयर गर्दै यस्तो बताएकी हुन् ।
केही समय अगाडी उनले इन्स्टाग्राममार्फत केही तस्बिरहरू सार्वजनिक गर्दै आफ्नो इन्गेजमेन्टको जानकारी दिएकी थिइन् । उनले प्रेमिल क्याप्सनसहित इन्गेजमेन्टको घोषणा गरे पनि हुनेवाला श्रीमानको नाम भने खुलाएकी थिइनन् ।
उनले इन्गेजमेन्ट गरेका व्यक्ति विशाल खरेल हुन् । अमेरिकामा बस्दै आएका विशाल कलाकारसमेत हुन् । उनले फिल्म र म्युजिक भिडिओमा समेत अभिनय गरेका छन् ।
यसबीच विशाल खरेल एक सन्तानका बाबु भएको खुल्न आएको छ । यस्तोमा अभिनेत्री शाहले विवाहित हो भन्ने थाहा पाउँदा पाउँदै खरेलसँग सम्बन्ध राखेको खरेलका पूर्वपत्नी सरिताको आरोप छ ।
यसपछि साम्राज्ञीले पनि यसबारे आफ्नो भनाइ सार्वजनिक गरेकी छन् ।
उनले दुवै जनाको विगत रहेको भन्दै उनीहरूले जीवनमा अगाडि बढ्ने निर्णय गरेको बताएकी छन् । उनले आफ्नो खुशीको मजाक उडाउन बन्द गर्न आग्रह गर्दै लाइक र भ्यूजको लागि आफ्नो नाम प्रयोग नगर्न भनेकी छन् ।









