सुन्तलीको बिलौना- विक्षिप्त श्रीमानलाई हेरौँ कि छोरीको उपचार गरौँ ?

काठमाडौं । हाँस्यकलाकार सीताराम कट्टेल (धुर्मुस) पत्नी कुञ्जना घिमिरे (सुन्तली)ले चितवनको क्रिकेट रंगशाला परियोजनाका कारण आफ्नो परिवारले भोग्नुपरेको असह्य पीडा सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जालमार्फत उनले श्रीमान् धुर्मुसको मानसिक अवस्था विक्षिप्त बनेको र छोरी शुविहानीको जीवनभर चल्ने उपचारमा समेत गम्भीर अवरोध आइरहेको भन्दै मार्मिक खुलासा गरेकी हुन् ।

कुञ्जनाका अनुसार, छोरी शुविहानी जन्मेको १६ दिनमै मेनेन्जाइटिसको शिकार बनेकी थिइन् । त्यसको भयानक असरस्वरूप उनको घुँडाको हड्डीमा समेत गम्भीर संक्रमण भई एउटा खुट्टाको कुर्कुरे हड्डी नै क्षय भएको छ । १२ वर्षीया शुविहानीको दाहिने खुट्टा देब्रेभन्दा ७ सेन्टिमिटर सानो भइसकेको छ । ४ वर्षको हुँदा घुँडामा स्टिल राखेर गरिने शल्यक्रिया गरिए पनि त्यसलाई निकाल्ने र छोटो भएको खुट्टाको हड्डी तन्काउने उपचार ३-४ वर्षयता ढिला भइसकेको छ ।

शुविहानीलाई हिँड्नमा समस्या हुन थालेको र हिपको जोर्नीमा समेत दुखाइ बढेको भन्दै कुञ्जनाले यो लामो र पीडादायी उपचार रंगशालाको ऋण तिरेपछि मात्र सुरु गर्न लागेको बताइन् । तर, सम्बन्धित निकायबाट निरन्तरको ढिलासुस्तीले गर्दा छोरीको उपचारमा थप जटिलता आइरहेको उनको गुनासो छ ।

कुञ्जनाले रंगशालाको तनावले आफू दोस्रोपटक आमा बन्ने सौभाग्यबाट समेत वञ्चित हुनुपरेको पीडा पोखेकी छन् । परिवार र आफन्तलाई समेत गम्भीर मानसिक असर परेको उल्लेख गर्दै उनले सरकारले छुट्याएको बजेट निकासा गर्नमा एउटा हाकिमलाई के कुराले अप्ठ्यारो पारेको भन्दै प्रश्न गरेकी छन् । उनले आक्रोश व्यक्त गर्दै लेखेकी छन्, ‘रंगशाला डेढ दिनमा लिन भ्याउने, त्यो बनाउँदा बाँकी रहेको तिरो चाँही तिर्न नपर्ने ? कस्तो अपराध गरेछौं नी हामीले !’

पाँच वर्षदेखि निरन्तर पत्र र अल्झाउने बाटो मात्रै देखाएर आफ्नो परिवारको जीवन अलपत्र पारेको भन्दै कुञ्जनाले अब त सहन नसक्ने अवस्था आएको बताएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + nine =