बालुवाटारको त्रिपक्षीय वार्तापछि कसले के भने ?

काठमाडौं । अन्तरिम सरकार गठनको झण्डै दुई महिनापछि बुधबार सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिहरूबीच पहिलो त्रिपक्षीय छलफल भयो । बालुवाटारमा भएको यस छलफलमा जेनजीका प्रतिनिधिहरूका साथै नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलका प्रतिनिधिहरू सहभागी थिए । छलफलले संवादहीनता तोडे पनि सहभागीहरूबीच तीव्र सवाल-जवाफ भयो, जसले मन बाझिने अवस्था समेत सिर्जना गरेको छ ।

राजेन्द्र पाण्डे -नेकपा एकीकृत समाजवादी
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले बैठकमा राजनीतिक दल र जेनजीले आ-आफ्नो धारणा राखेको बताए ।

बैठकमा राजनीतिक दलले निर्वाचन गराउने वातावरण अझै पनि बनिसकेको हो कि भन्ने धारणा राखेका थिए । धारणा राख्नेमध्ये नेकपा (एमाले)ले संसद पुनर्स्थापना गरेर जेनजीको मागलाई पनि सम्बोधन गरेर जान पाए राम्रो हुन्थ्यो भन्ने धारणा राखेको नेता पाण्डेले जानकारी दिए ।

जेनजीका प्रतिनिधिले भने, जेनजी आन्दोलन सन्दर्भमा, पुराना राजनीतिक दलले बोल्दै आएको सन्दर्भमा, भ्रष्टाचार नियन्त्रण हुन नसकेको विषयमा, अव्यवस्था र सामाजिक सञ्जालमा प्रतिबन्ध गरेको विषयमा आफूहरूले आन्दोलन गरेको बताएका थिए ।

जेनजीका प्रतिनिधिले, “हाम्रो आन्दोलन संविधानको विरोधमा छैन, राजनीतिक दलले भाग नलिएको चुनाव हुन सक्दैन, संसदमा रहेका राजनीतिक दलहरू निर्वाचनमा आइदिनुहोस्, संसद पुनर्स्थापना भनेर नबसिदिनुस्, यही ढंगले अगाडि बढौँ,” भनेर प्रस्ताव राखेको समेत बैठकको भनाइ उद्धृत गर्दै उपाध्यक्ष पाण्डेले बताए ।

जेनजीका प्रतिनिधि एवम् सुदूरपश्चिम संयोजक खेमराज साउद
जेनजीका प्रतिनिधि एवम् सुदूरपश्चिम संयोजक खेमराज साउदले जेनजी सरकार र राजनीतिक दलबीच आज भएको छलफलमा तोकिएकै मिति –फागुन २१) भित्र कसरी निर्वाचन सम्पन्न गर्ने भन्ने बारेमा छलफल भएको बताए । तोकिएकै मितिमा निर्वाचन गराउनेबारे सबै पार्टीको धारणा एउटै रहेको उनको भनाइ थियो ।

बैठकमा नेकपा (एमाले)को धारणा फरक आएको समेत उनले बताए । नेकपा एमालेले संसद पुनर्स्थापना हुनुपर्ने धारणा राखे पनि बैठकमा जेनजीका प्रतिनिधिले, “यो हुनुहुँदैन, यो भयो भने जेनजी आन्दोलनको उपलब्धिहरूलाई संस्थागत गर्दै अगाडि लैजानुपर्छ,” भन्ने धारणा राखेको साउदले बताए ।

“देशमा परिवर्तन के आयो भन्ने होइन, ८० वर्षदेखि नेताहरूले देशलाई लुटिरहेका थिए, एउटा जुम्लाको नागरिकले नागरिकता बनाउनका लागि ४० वर्ष कुर्नुपर्ने स्थितिको अन्त्य गर्नका लागि जनताभित्र भएको वितृष्णा पोख्नका लागि जेनजी आन्दोलन भएको हो, जेनजी आन्दोलन भइसकेपछि यसलाई कसरी संस्थागत गर्दै लैजाने भनेर आज छलफल भएको हो,” – साउदले भने ।

२०८४ को चुनावलाई ०८२ मा सारो भन्ने भाष्य गलत भएको उनको भनाइ थियो । “हामीले छलफलमा समयमै चुनाव हुनुपर्छ भनेका छौँ, समयमै चुनाव हुन्छ, समयमा चुनाव गर्नका लागि सरकार, राजनीतिक दल र जेनजी सबै सकारात्मक छौँ,” – उनले भने । जेनजी आन्दोलनलाई संस्थागत गरेर मुलुकलाई सही बाटोमा लैजानका लागि जेनजीले सरकारलाई सहयोग गर्ने उनले बताए ।

साउदले भने, “देशमा चुनाव गरेर निर्वाचित सरकार बनाउन हामी एकाकार भएर अगाडि बढ्छौँ ।”

जेनजीका अर्को प्रतिनिधि सागर ढकाल
जेनजी, स्वतन्त्र अभियानकर्ता, सरकार र राजनीतिक दल कसरी अगाडि बढ्ने भनेर सरकारले पहिलोपटक छलफल अभियान चलाएको छ । चुनावको विकल्प छैन, चुनाव कसरी गर्ने भन्नेबारे सबैले आ-आफ्नो धारणा राखे । वार्तामा निरन्तर जाँदै गर्दा धेरैको कुरा २०८४ को चुनाव २०८२ मा मात्र गर्ने हो कि भन्ने प्रश्न थियो । प्रजातन्त्र आएको ७५ वर्ष भयो । ७५ वर्षमा पूर्ण कार्यकाल सरकार अहिलेसम्म बन्न सकेको छैन । विदेशमा रहेकालाई भोटको अधिकार दिनुपर्छ भन्ने कुरा राखेको उनले बताए ।

जेनजीले लिएको प्रविधिलाई राजनीतिक दलले अवलम्बन गर्नुपर्छ भन्ने कुरा राखेको उनको भनाइ थियो । प्रविधियुक्त चुनाव हुनुपर्छ भन्ने आवाज आफूहरूले उठाएको उनको भनाइ थियो ।

सञ्चारमन्त्री जगदीश खरेल
सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिबीच भएको छलफल उपलब्धिमूलक, महत्वपूर्ण र सौहार्दपूर्ण रहेको थियो । राजनीतिक दल र जेनजीका प्रतिनिधिबीच संवादहीनताको अवस्था थियो । औपचारिक रूपमा उनीहरूको बीच संवाद हुन सकेको थिएन । यद्यपि व्यक्तिगत र पार्टीगत रूपमा उनीहरूले छलफल गरेका थिए होला ।

सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच फागुन २१ चुनावको सन्दर्भमा, सुशासन, भ्रष्टाचार नियन्त्रण र आन्दोलनका क्रममा भएको धनजनको क्षतिको बारेमा गहन छलफल भएको छ ।

जेनजीले उठाएका आवाजलाई राज्यले कसरी मान्यता दिएर कार्यान्वयन गराउने भनेर गहन रूपमा छलफल भएको थियो । राजनीतिक दल र जेनजीका प्रतिनिधिले यसलाई सकारात्मक रूपमा लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + two =