बालेन र सुदन गुरुङविरुद्ध युवा संघले दियो जाहेरी

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरका मेयर बालेन शाह र हामी नेपाल संस्थाका प्रमुख सुदन गुरूङविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता गरेको छ ।
नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ चितवनले शाह र गुरूङले जेनजी आन्दोलनको दुरुपयोग गरी निजी तथा सरकारी भवनमा तोडफोड र आगजनी गर्न भूमिका खेलेको आरोप लगाउँदै आपराधिक उपद्रव मुद्दामा जाहेरी दिएको हो ।
संघका जिल्ला संयोजक मधुपर्क श्रेष्ठका अनुसार जेनजी आन्दोलनको नाममा चितवनमा एमालेका करिब दुई दर्जन नेताका घरमा तोडफोड र आगजनी गरिएको उल्लेख जाहेरीमा गरिएको छ ।
साथै, जिल्लास्थित तीन नगरपालिका, एक वडा कार्यालय र पार्टीसम्बद्ध अन्य कार्यालयहरूमा समेत क्षति पु¥याइएको उल्लेख छ ।
यसअघि अनेरास्ववियु चितवनले पनि मेयर शाह र गुरूङविरूद्ध जिल्ला प्रहरीमा छुट्टै जाहेरी दर्ता गरिसकेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालले जाहेरी दर्ता गर्ने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिएका छन् ।








