गाजामा युद्धविराम गर्न ट्रम्प-नेतान्याहू सहमत, हमासले गर्‍यो अस्वीकार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू गाजामा तत्काल युद्धविरामका लागि सहमत भएका छन् । सोमबार राति वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा दुवै नेताले यसको घोषणा गर्दै ट्रम्पले २० बुँदे विस्तृत शान्ति योजना सार्वजनिक गरेका हुन् ।

योजनाअनुसार, यदि हमासले यसलाई स्वीकार नगरे इजरायलसँग उसलाई ‘समाप्त गर्ने सम्पूर्ण अधिकार’ रहने र त्यसमा अमेरिकाले पूर्ण साथ दिने राष्ट्रपति ट्रम्पले बताएका छन् । प्रधानमन्त्री नेतान्याहूले गाजामा शान्तिपूर्ण प्रशासन स्थापना गर्ने, हमासका सबै हतियार हटाउने र इजरायल क्रमशः पछि हट्ने प्रतिबद्धता जनाएका छन्। उनले हमासले नमाने पनि यो कार्य पूरा गर्ने दृढता व्यक्त गरे । ट्रम्पको यो योजनालाई हमासले भने औपचारिक प्रस्ताव प्राप्त नभएको र हतियार नछाड्ने भन्दै अस्वीकार गरेको छ ।

ट्रम्पको २० बुँदे युद्धविराम योजनाका मुख्य बुँदाहरू:

१. तत्काल युद्ध रोक्ने: सहमति भएको खण्डमा गाजामा युद्ध तुरुन्त अन्त्य हुनेछ ।
२. इजरायलको फिर्ती: इजरायली सेना क्रमशः गाजाबाट फिर्ता गरिनेछ ।
३. बन्दीमुक्ति: हमासले ७२ घण्टाभित्र सबै इजरायली बन्दी (जिउँदा वा मृत) छोड्नुपर्नेछ ।
४. कैदी मुक्त: इजरायलले २५० आजीवन कारावासी र १७०० अन्य प्यालेस्टिनी कैदीलाई मुक्त गर्नेछ ।
५. शव आदान–प्रदान: प्रत्येक मृत इजरायली बन्दीको सट्टा १५ गाजावासीको शव फिर्ता दिइनेछ ।
६. आतंकमुक्त गाजा: गाजाबाट सबै ‘आतंकवादी’ आधार र हतियार हटाइनेछ ।
७. हमास प्रशासनमा होइन: हमास र अन्य ‘आतंकवादी’ समूहले गाजाको सरकारमा भाग लिन पाउने छैनन् ।
८. अस्थायी प्रशासन समिति: योग्य व्यक्तिहरूको प्राविधिक समिति गठन हुनेछ ।
९. शान्ति बोर्ड: अमेरिकी राष्ट्रपति ट्रम्पको अध्यक्षतामा पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरसहितको अन्तर्राष्ट्रिय बोर्ड बन्नेछ ।
१०. पुनर्निर्माण योजना: गाजाको विकासका लागि योजना बनाइनेछ र खर्च बोर्डले व्यहोर्नेछ ।
११. मानवीय सहायता: तत्काल पर्याप्त मानवीय सहायता पुर्‍याइनेछ ।
१२. विशेष व्यापार क्षेत्र: रोजगारी बढाउन गाजामा व्यापारिक क्षेत्र स्थापना गरिनेछ ।
१३. जनताको स्वतन्त्रता: गाजा छोड्न वा फर्किन कसैलाई बाध्य पारिनेछैन ।
१४. सुरक्षा बल: अन्तर्राष्ट्रिय सुरक्षा बलले गाजामा शान्ति कायम गर्नेछ ।
१५. पुलिस तालिम: अन्तर्राष्ट्रिय सुरक्षा बलले गाजा प्रहरीलाई प्रशिक्षण दिनेछ ।
१६. सीमा सुरक्षा: इजरायल र मिस्रबीचको सीमा सुरक्षा कडा पारिनेछ ।
१७. लडाइँ बन्द: युद्ध समाप्त नभएसम्म हवाई आक्रमण र तोपबारी रोकिनेछ ।
१८. मानवअधिकार: अन्तर्राष्ट्रिय संस्थाले सहयोग र सुरक्षाको निगरानी गर्नेछन् ।
१९. शान्ति वार्ता: इजरायल र प्यालेस्टाइनबीच वार्ता सुरु गरिनेछ ।
२०. भविष्य योजना: स्थायी शान्ति, विकास र राम्रो जीवन सुनिश्चित गर्ने उद्देश्य रहनेछ ।

ट्रम्प र नेतान्याहूले पत्रकार सम्मेलनमा कुनै प्रश्न लिएनन् । ट्रम्पले ‘सबै कुरा निश्चित र हस्ताक्षर नभएसम्म यो प्रश्नोत्तर गर्ने समय होइन’ भन्दै पत्रकारका प्रश्नहरूलाई पन्छ्याए। नेतान्याहूले पनि ट्रम्पकै निर्णयमा विश्वास व्यक्त गरे । कार्यक्रमको अन्त्यमा दुवै नेताले हात मिलाएर बिदा भएका थिए ।

प्रधानमन्त्री नेतान्याहूले सोमबार कतारमा भएको दोहा आक्रमणका लागि औपचारिक रूपमा माफी मागेका छन् । ट्रम्पको आग्रहमा उनले ह्वाइट हाउसबाटै कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल-थानीलाई फोन गरेर ‘हामीले आतंकवादीलाई लक्ष्य बनाएका थियौं, कतारलाई होइन’ भन्दै कतारी नागरिकको मृत्युमा दुःख व्यक्त गरे । सेप्टेम्बर ९ मा हमास नेता खलील अल-हय्यालाई लक्ष्य गरी दोहामा गरिएको इजरायली आक्रमणमा ६ जनाको मृत्यु भएपछि कतारले मध्यस्थता रोकिदिएको थियो ।

गाजामा ६६,००० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएपछि इजरायलमाथि विश्वव्यापी दबाब बढिरहेको छ । हालै संयुक्त राष्ट्रसंघ महासभामा नेतान्याहूको भाषणका क्रममा धेरै देशका प्रतिनिधिहरू बाहिरिएका थिए । अमेरिका भने इजरायलसँग दृढतापूर्वक उभिएको छ, र ट्रम्पले ‘अमेरिका प्यालेस्टाइनलाई देशको मान्यता दिने छैन’ भनेर स्पष्ट पारेका छन् । तर, बेलायत, फ्रान्स, क्यानडा र अष्ट्रेलिया जस्ता इजरायलका पुराना सहयोगीहरूले भने प्यालेस्टाइनलाई आधिकारिक मान्यता दिइसकेका छन् र इजरायललाई युद्धविराम गर्न दबाब दिइरहेका छन् । इजरायलभित्रैका धेरै दलले भने हमास समाप्त नभएसम्म युद्धविराम सम्भव नभएको भन्दै नेतान्याहूले सम्झौता गरे सरकारबाट समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

गाजा युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको आक्रमणपछि सुरु भएको हो । सो आक्रमणमा एक हजार २१९ इजरायलीको मृत्यु भएको थियो, जसमा अधिकांश सर्वसाधारण थि ए। त्यसक्रममा अपहरण गरिएका २५१ जनामध्ये ४७ जना अझै गाजामा छन्, जसमा २५ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । उता, हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायली आक्रमणमा हालसम्म कम्तीमा ६६ हजार पाँच जना मारिएका छन्, जसमध्ये अधिकांश सर्वसाधारण रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + fourteen =