इन्डो–नेपाल सहकार्यमा ‘मोना लिसा (ब्लडी लभ) निर्माण हुदैँ

काठमाडौँ । भारतीय र नेपाली फिल्मकर्मी मिलेर नयाँ फिल्म निर्माण हुने भएको छ । दक्षिण भारतीय केही निर्माताको सहकार्यमा नेपालमै तयार हुन लागेको यो फिल्मलाई अपेक्षित प्रोजेक्टका रूपमा लिइएको छ ।
बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा ‘मोना लिसा (ब्लडी लभ)’ निर्माण हुने भएको हो ।
आज घटस्थापनाको दिन पारेर चलचित्र निर्माणको औपचारिक घोषणा गर्दै टाइटल पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको लेखन तथा निर्देशन किङ योगीले गर्ने भएका छन् ।
ठूलो बजेटमा निर्माण हुने भनिएको यस फिल्ममा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुने जानकारी अक्स इन्टरनेशनल स्टुडियोजले दिएको छ । यसअघि ठूला–ठूला अन्तर्राष्ट्रिय फिल्ममा काम गरिसकेका प्राविधिक समूह यसमा संलग्न हुने भएकाले प्राविधिक पक्ष बलियो रहने अपेक्षा गरिएको छ ।
हाल फिल्मको प्रारम्भिक तयारीसँगै कलाकार छनोट (कास्टिङ) प्रक्रिया अगाडि बढिरहेको निर्माण पक्षले जनाएको छ । कथा, शैली र भिजुअलमा नवीनपन ल्याउने उद्देश्यसहित निर्माण हुन लागेको यो चलचित्र २०२६ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने योजना रहेको बताइएको छ ।
सार्वजनिक गरिएको पहिलो झलक पोस्टरमार्फत फिल्मलाई ‘ब्लडी लभ’ (रगतिलो प्रेम) भन्ने ट्यागलाइन दिइएको छ । यसले चलचित्रमा रोमान्स र एक्सनको अनौठो मिश्रण रहने संकेत दिएको छ । प्रेमका लागि कसरी युद्धसम्मको परिस्थिती सिर्जना हुन्छ भन्ने विषयलाई फिल्मले प्रस्तुत गर्ने जनाएको छ ।








