आगलागीका कारण डाटा सेन्टर प्रभावित, सेवा अवरुद्ध भएकोमा भायानेटको माफी

काठमाडौँ । भायानेटले हालै इन्टरनेट र सेवामा आएको अवरोधका लागि आफ्ना ग्राहकहरूसमक्ष माफी गरेको छ ।
भदौ २४ गते साँझ करिब ४ : ४५ बजे, प्रदर्शनका क्रममा लागेको आगलागीले सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा (कान्तिपुर मिडिया ग्रुप रहेको भवन) अवस्थित भायानेटको प्रमुख डाटा सेन्टरमा क्षति पुर्यायो।
यद्यपि कम्पनीसँग ब्याकअप डाटा सेन्टरहरू रहेका छन्, यस्तो महत्त्वपूर्ण संरचना अचानक गुमाउँदा ती सबै ग्राहकको इन्टरनेट ट्राफिक सम्हाल्न पर्याप्त नभएको र सेवा देशभर अवरुद्ध भएको भायानेटले जानकारी दिएको छ ।
भायानेटद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘हाम्रो प्राविधिक टोली तुरुन्तै खटाइयो, तर भवन असुरक्षित भएकाले तत्काल प्रवेश गर्न सकिएन। त्यसबीचमा ब्याकअप डाटा सेन्टरमार्फत आंशिक रूपमा इन्टरनेट चलाउन सकियो। तर धेरै ग्राहक अझै प्रभावित भए। त्यतिबेला सेवा अनलाइन ल्याउन सकिएन किनभने पहिलो प्राथमिकता इन्टरनेट सेवा सुचारु गर्नु थियो। भदौ २५ गते बिहान, सेना र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएपछि दिउँसो करिब १२ बजे हाम्रो प्राविधिक टोली भवनभित्र प्रवेश गर्न सक्यो। आंशिक रूपमा जलेको भवन, धुवाँ र भाँचिएका सिसामाझैँ खतरनाक अवस्थामै उनीहरूले जोखिम मोलेर आवश्यक सर्भरहरू सुरक्षित रूपमा बाहिर ल्याएर अर्को सुरक्षित डाटा सेन्टरमा पुनः स्थापना गरे।’
कम्पनीको प्राविधिक टोलीको असाधारण प्रयासका कारण अहिले अधिकांश ग्राहकको इन्टरनेट सेवा सुचारु भइसकेको जनाएको छ, र आजै साँझसम्म पूर्ण क्षमतामा सेवा सञ्चालन गर्ने लक्ष्य रहेको बताइएको छ।सेवा पनि चाँडै सुचारु गरिने बताइएको छ ।








