दयाहाङ अभिनीत चलचित्र ‘रिमै’को भव्य प्रिमियर सम्पन्न

काठमाडौँ । भदौ २० गते भोली शुक्रवारबाट प्रदर्शनमा आउने सिनेमा ‘रिमै’को हिजो बुधवार रिलिजको पूर्वसन्धयामा भव्य प्रिमियरको आयोजना गरिएको थियो ।

न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजना गरिएको प्रिमियरमा ‘रिमै’ हेर्न सिनेमाकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति देखिएको थियो ।

यो सिनेमाको प्रिमियर शो सुरु हुने अगाडी गुरुङ समुदायको सांस्कृतिक झाँकी स्वरूप सोरठी नाच समेत प्रस्तुत गरियो । सिनेमाका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङ समुदायको भेषभुषामा देखिए । यो सिनेमाको प्रिमियरमा निर्देशक ज्ञानेन्द्र देउजा, दीपक आचार्य ९काकु०, अनिल योञ्जन, अभिनेता विल्सन विक्रम राई, रोहित रुम्बा लगायतका सेलिब्रेटीहरु पुगेका थिए ।

सिनेमा हेरिसकेपछि अभिनेताबाट निर्देशक बनेका विल्सन विक्रम राईले ‘रिमै’ मन छुने सिनेमा बनेको बताए । यो सिनेमा हालसम्म गुरुङ समुदायमाथि बनेको उत्कृष्ट सिनेमा भएको आफ्नो बुझाई रहेको उनको भनाई थियो । यता, सिनेमाका अभिनेता तथा निर्देशक माओत्से गुरुङले पनि रिमै निकै राम्रो बनेको प्रतिक्रिया दिए ।

उनले भने ‘निर्देशकले हाम्रो समुदायमाथि एउटा निकै राम्रो सिनेमा निर्माण गर्नु भएको छ । सबैले साथ दिनु जरुरी छ । त्यसैले सबै समुदायका दर्शकलाई ‘रिमै’ हेर्न अनुरोध छ ।’

सिनेमाकी मुख्य अभिनेत्री रिश्मा गुरुङले पनि आफ्नो करिब ८ वर्षपछिको कमव्याकलाई लिएर उत्साहित रहेकाले सिनेमा हेरिरहँदा रोचक लागेका अनुभव सेयर गरिन् ।

‘म लामो समयदेखि अमेरिकामा बस्दै आएकी छु । म जुन सहरमा बस्छु, त्यहाँ नेपाली समुदायको बसोबास निकै कम छ । त्यसैले अमेरिकामा रहँदा यो सबै मिस गरिरहेकी थिए । आज रिमै हेरिरहँदा त्यो सबै भुलेर नयाँ अनुभव बटुले । सिनेमा निकै राम्रो बनेको छ । लामो समयपछि काजी र मैंयाको जोडी पुन पर्दामा आएकाले दर्शकलाई आकर्षित गर्ने विश्वास छ,’ उनले भनिन् ।

यो सिनेमाका निर्देशक खिलबहादुर गुरुङ आफूले विगत ३ वर्ष यता रातदिन रिमै बाहेक अरू केही नसुनी काम गर्दाको परिणाम आज पाउँदा खुसी लागेको बताए ।

‘हामीले इमानदारीताका साथ सिनेमा निर्माण गरेका छौँ । दर्शकले मन पराई दिनु हुन्छ भन्ने विश्वास छ । आज प्रिमियर शोबाट मिलेको प्रतिक्रियाले सिनेमाको व्यापारमा अझै प्लस गर्ने विश्वास छ,’ निर्देशक गुरुङले भने ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।

खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ । यो सिनेमा आगामी भाद्र २० गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 15 =