भुटानी शरणार्थी प्रकरणः मियाँको म्याद बाँकी, अन्तिम सुनुवाइमा ढिलाइ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम चरणमा पुगेको सुनुवाइमा काठमाडौं जिल्ला अदालतले प्रतिवादीमध्ये एकजनाको म्याद अझै बाँकी रहेकाले त्यसपछि मात्र पेसी चढाउन आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बुधबार ‘अन्य’ आदेश गर्दै पूर्वहज समिति अध्यक्ष शम्शेर मियाँको म्याद सकिन बाँकी रहेकाले तत्काल सुनुवाइ प्रक्रिया अघि बढाउन नमिल्ने निर्णय सुनाएको हो ।
अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार, मियाँको तारेख गुज्रिसकेपछि अदालतले कानुनबमोजिम २१ दिनको थप समय दिनुपर्ने भएकाले त्यस अवधि सकिएपछि मात्र पेसी चढाइने छ ।
‘शम्शेर मियाँको तारेख गुज्रेको हुनाले अब तारिख थमाउने समय बाँकी छ,’ श्रेष्ठले भने, ‘त्यो समय सकिएपछि मात्रै अदालतमा पेसी चढाइने आदेश भएको हो ।’
मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २२८ अनुसार, मुद्दाका पक्षकार तोकिएको म्याद वा तारिखमा अनुपस्थित भएमा, कानुनीरूपमा दिन मिल्ने थप समय (दफा २२३ वा २२५ बमोजिम) समाप्त नभएसम्म मुद्दा सुनुवाइ गर्न सकिँदैन ।
यससँगै, उक्त मुद्दामा एक जना साक्षीको पनि बयान लिन बाँकी रहेको अदालतले जनाएको छ । ती साक्षीको बयानका लागि निवेदन प्राप्त भइसकेको र चाँडै बयान हुने प्रक्रिया अघि बढ्ने जानकारी प्राप्त भएको छ ।
शम्शेर मियाँलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपनि, उच्च अदालत पाटनले उनलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। त्यसअनुसार मियाँ धरौटी बुझाएर छुटेका थिए ।
२०७९ सालमा सार्वजनिक भएको यो प्रकरणमा हालसम्म ठगी, लिखत किर्ते, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा दायर भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा २०७९ जेठ १८ गते दर्ता गरिएको उजुरीका आधारमा यो मुद्दा अगाडि बढाइएको हो ।
२०७९ मा दर्ता भएको मुद्दा २०८० जेठ १० गते जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा दर्ता गरिएको थियो । त्यसपछि थप अनुसन्धानका आधारमा २०८१ वैशाख ९ गते केशवप्रसाद दुलालसहित पाँचजनाविरुद्ध पूरक अभियोग दर्ता गरिएको थियो । बेचन झा पक्राउ परेपछि २०८१ साउन २९ मा उनीविरुद्ध थप अभियोग दर्ता भएको थियो ।
यो प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेय, प्रधानमन्त्रीका पूर्वसुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वसांसद आङटावा शेर्पा, बेचन झा लगायतको संलग्नता देखिएको छ ।
पीडितहरूले आफूहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौं रुपैयाँ ठगी गरेको आरोप लगाएका छन् । उनीहरूले १३ करोड रुपैयाँभन्दा बढी रकम संकलन गरेर गिरोहलाई बुझाएको दाबी गरेका छन् ।
दाङका गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले ८१ जनाको तर्फबाट उजुरी दर्ता गराएका थिए । उनीहरूले अमेरिका जान परिवारको सम्पत्ति धितो राखेर रकम तिरेको जनाएका छन् ।
मियाँको म्याद सकिएपछि मात्र पेसी चढाइने आदेशपछि सुनुवाइ अझै केही समयपछि मात्र अघि बढ्ने देखिएको छ । एक जना साक्षीको बयान पनि बाँकी रहेकाले मुद्दाको टुंगो तत्काल लाग्ने सम्भावना छैन । अदालतले मियाँको म्याद समाप्त भएपछि मात्रै नयाँ पेसी तोक्नेछ ।








