भारतसँगको हार बिर्साउँदै उपाधि होडमा फर्कने दाउमा नेपाली चेली, आज बंगलादेशसँग भिडन्त

काठमाडौं । भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिप अन्तर्गत आज नेपालले आफ्नो तेस्रो तथा महत्त्वपूर्ण खेलमा बलियो प्रतिद्वन्द्वी बंगलादेशको सामना गर्दैछ । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने यो खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ ।
समान अंकसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका दुवै टोलीका लागि यो खेल उपाधि होडमा कायम रहन निकै महत्त्वपूर्ण मानिएको छ । प्रतियोगितामा हालसम्म समान दुई खेल खेलेका नेपाल र बंगलादेशले एक जित र एक हारसहित ३-३ अंक जोडेका छन् । यद्यपि, गोलअन्तरका आधारमा बंगलादेश दोस्रो स्थानमा छ भने नेपाल तेस्रो स्थानमा रहेको छ ।
नेपालले आफ्नो पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग ७-० को फराकिलो हार बेहोरेको थियो । तर, दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गर्दै आयोजक भुटानलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि आशा जीवितै राखेको हो ।
उता, पछिल्लो समय महिला फुटबलका सबै उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरिरहेको बंगलादेशले भुटानलाई ३-१ ले हराएको थियो भने उपाधिको दाबेदार मानिएको भारतसँग २-० को सम्मानजनक हार बेहोरेको थियो ।
चार राष्ट्र सहभागी यस प्रतियोगिता डबल राउण्ड रोबिन लिगको आधारमा खेलाइँदैछ । लिगको अन्त्यमा सबैभन्दा बढी अंक हासिल गर्ने टोलीले च्याम्पियनसिपको उपाधि जित्नेछ, जसका कारण प्रत्येक खेलको नतिजा महत्त्वपूर्ण हुनेछ । हाल दुई खेलमा अपराजित भारत ६ अंकसहित शीर्ष स्थानमा छ । आजै हुने अर्को खेलमा भारतले आयोजक भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टोली:
झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी बिक, ज्ञान्शु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मिन माया श्रेष्ठ, अंशु बिक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना बिक, सहारा लिम्बु, बब्टिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यम कुमारी बिक, अनिता राना मगर, दिक्षा ।








