फ्राईडे रिलिज : हलमा ‘जनै हराएको मान्छे’, ‘माग्ने राजा’ र ‘ताराहरू’

काठमाडौं । नेपाली रजतपटमा शुक्रबारदेखि तीन नयाँ चलचित्र ‘जनै हराएको मान्छे’, ‘माग्ने राजा’ र ‘ताराहरू’ एकसाथ प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिजको परम्परालाई निरन्तरता दिँदै हलमा लागेका यी चलचित्रले दर्शकलाई फरक-फरक कथा र स्वाद पस्कने भएका छन् । साउनमा प्रदर्शन भएका केही फिल्मले व्यावसायिक सफलता पाउन नसकिरहेको अवस्थामा तीजको अवसर पारेर रिलिज भएका यी तीनै फिल्मका निर्माण पक्षले भने राम्रो व्यापार गर्नेमा आशावादी देखिएका छन् ।
एकैसाथ तीन फिल्म प्रदर्शनमा आउँदा व्यावसायिक प्रतिस्पर्धा चर्को हुने देखिए पनि दर्शकले भने आफ्नो रुचिअनुसारको फिल्म छान्ने अवसर पाएका छन् । कमेडी, सपना र सङ्घर्षजस्ता भिन्न कथावस्तुमा बनेका यी फिल्मले दर्शकलाई हलसम्म तान्ने विश्वास गरिएको छ ।
जनै हराएको मान्छे: सहरिया सपनाको कथा
निर्देशक हिमाल न्यौपानेको फिल्म ‘जनै हराएको मान्छे’ले गाउँबाट सहर आएको एक सोझो युवाको सपना, सङ्घर्ष र सम्बन्धमा आउने उतारचढावको कथालाई मार्मिक रूपमा प्रस्तुत गर्छ । फिल्ममा अभिनेता विजय बरालले केन्द्रीय भूमिका निर्वाह गरेका छन् भने केकी अधिकारी, मिरुना मगर, गौरव पहारी र भोलाराज सापकोटाजस्ता अब्बल कलाकारहरूको अभिनयले कथालाई जीवन्त बनाएको छ । भानुभक्त ढकालको लेखनमा तयार भएको यो फिल्मले सहरिया जीवनको यथार्थ र सम्बन्धभित्रको जटिलतालाई पर्दामा उतार्ने प्रयास गरेको छ । फिल्मलाई कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् ।
माग्ने राजा: व्यङ्ग्यात्मक हाँसोको खुराक
चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ लाई पहिलो पटक मुख्य भूमिकामा प्रस्तुत गरिएको फिल्म ‘माग्ने राजा’ ले दर्शकमाझ विशेष प्रतीक्षा जगाएको छ । ऋषि लामिछाने निर्देशित यो फिल्मले बिनामिहिनेत धनी बन्ने सपना देख्ने एक गाउँले युवाको कथालाई व्यङ्ग्यात्मक शैलीमा भन्छ । फिल्मको ट्रेलरमा केदार घिमिरेलाई विभिन्न अवतारमा देखाइएको छ, जसले दर्शकमाझ कौतुहलता बढाएको छ । फिल्ममा वर्षा सिवाकोटी, विल्सनविक्रम राई र शिशिर बाङ्देलको पनि अभिनय छ भने अभिनेता आर्यन सिग्देल विशेष भूमिकामा देखिनेछन् । सामीप्य राज तिमिल्सेनाको लेखन र कलाकार तथा जनप्रतिनिधि मुनाल घिमिरेको निर्माणमा बनेको यो फिल्मले सामाजिक सन्देशसहित मनोरञ्जन प्रदान गर्ने निर्माण पक्षको दाबी छ ।
ताराहरू: सङ्घर्ष र मित्रताको कथा
निर्देशक आशान्त शर्माको ‘ताराहरू’ ले सहरको निम्नमध्यमवर्गीय परिवारको यथार्थलाई पर्दामा उतारेको छ । आफ्ना सपना पूरा गर्न सङ्घर्षरत एक अधबैँसे व्यक्तिको मानसिक द्वन्द्व र त्यसबाट पार पाउन गरिने प्रयास नै फिल्मको केन्द्रीय विषय हो । जीवनमा लिइने गलत निर्णयले ल्याउने उथलपुथल र कठिन समयमा मित्रताले देखाउने सही मार्गको कथालाई फिल्मले संवेदनशील रूपमा उठाएको छ । फिल्ममा मेनुका प्रधान, कुन्दुन शाक्य, मीरा खड्कालगायत कलाकारहरूको अभिनय रहेको छ । यस फिल्मका निर्माता गोपीनी सेढाई र कृष्णप्रसाद पङ्गेनी हुन् ।








