संसदीय समितिको ध्यान सडक र नागरिकता विधेयकमा, आज दुई बैठक

काठमाडौँ । सङ्घीय संसद्का दुई महत्त्वपूर्ण समितिहरूको बैठक आज बस्दैछ। पूर्वाधार विकास समितिले मनसुनले क्षति पुर्याएका सडकहरूको अवस्थाबारे र विधायन व्यवस्थापन समितिले नागरिकता विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
पूर्वाधार विकास समितिको बैठकमा विशेषगरी वर्षाका कारण क्षतिग्रस्त बनेका कोदारी राजमार्ग र रसुवागढीजस्ता राष्ट्रिय महत्वका सडकहरूको अवस्थाबारे छलफल हुनेछ । दसैँ-तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा आम नागरिकको सहज आवतजावत सुनिश्चित गर्न सडक यातायात र समग्र पूर्वाधारको अवस्थाबारे पनि समितिमा छलफल हुने एजेन्डा रहेको छ ।
त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने महत्त्वपूर्ण कार्यसूची तय गरेको छ । यो विधेयक लामो समयदेखि चर्चा र विवादमा रहँदै आएकोले समितिको छलफललाई विशेष चासोका साथ हेरिएको छ ।








