एसियन कपको सपना अधुरै, उत्तर कोरियासँग ठूलो हारपछि नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं । एएफसी यू-२० महिला एसियन कपमा छनोट हुने सपना बोकेर भुटान पुगेको नेपाली राष्ट्रिय टोली मिश्रित प्रदर्शन गर्दै स्वदेश फर्किएको छ । छनोट चरणको अन्तिम तथा निर्णायक खेलमा एसियाली पावरहाउस उत्तर कोरियासँग ११-० को फराकिलो अन्तरले पराजित भएसँगै नेपालको एसियन कप यात्रामा पूर्णविराम लागेको हो ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा आइतबार भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपाली टोली तीन पटकको विश्वविजेता उत्तर कोरियासामु निरीह साबित भयो । खेलको सुरुवातदेखि नै आक्रामक देखिएको उत्तर कोरियाले पहिलो हाफमा ५ गोल र दोस्रो हाफमा थप ६ गोल गर्दै नेपालमाथि गोलको वर्षा नै गर्‍यो । यो हारसँगै नेपालको समूह उपविजेता बनेर अघिल्लो चरण पुग्ने झिनो आशा पनि समाप्त भएको छ ।

यसअघि छनोट चरणमा नेपालले मिश्रित प्रदर्शन गरेको थियो । घरेलु टोली भुटानसँग १-१ को बराबरी खेल्दै प्रतियोगिताको सुरुवात गरेको नेपालले दोस्रो खेलमा साउदी अरेबियालाई १-० ले पराजित गर्दै छनोटको आशा जीवितै राखेको थियो । साउदीविरुद्धको जितले अन्तिम खेलमा उत्साह थपे पनि विश्व फुटबलकै बलियो युवा टोली उत्तर कोरियाको गति र रणनीतिका अगाडि नेपाली खेलाडीले कुनै चुनौती प्रस्तुत गर्न सकेनन् ।

समूह ‘ए’ बाट उत्तर कोरियाले आफ्ना सबै तीन खेलमा सानदार जित निकाल्दै ९ अंकसहित शीर्ष स्थानमा रहेर अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू-२० महिला एसियन कपका लागि स्थान सुरक्षित गरेको छ ।नेपालले भने ३ खेलबाट १ जित, १ बराबरी र १ हारसहित ४ अंक जोडेर प्रतियोगिता टुंग्यायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + two =