सिनेमा रिभ्यू

चलचित्र ‘सिटामोल’ : मन छुने कथा र उत्कृष्ट अभिनयको संगम (भिडिओ)

कलाकार : सौगात मल्ल, बेनिशा हमाल
विधा : सामाजिक विधा
निर्देशक : राज बहादुर साने

आजदेखि चलचित्र सिटामोलको देशव्यापी प्रदर्शन सुरु भएको छ । यस चलचित्रमा अभिनेता सौगात मल्ल, अभिनेत्री बेनिशा हमाल र कलाकार लोकेन्द्र लेखक लगायतका पात्रले अभिनय गरेका छन् ।

चलचित्रले माओवादी जनयुद्धको समयमा ग्रामीण क्षेत्रमा रहेका नेपालीहरूले सिटामोल र जीवनजल नपाएकै कारण ज्यान गुमाउनु परेको घटनालाई उजागर गर्दै चलचित्रको नाम समेत सिटामोल राखेको छ ।
गायन र निर्देशन दुवैमा अब्बल रहेका निर्देशक राज बहादुर सानेले यस चलचित्रलाई निर्देशन गरेका छन् । उनले यसअघि ‘सिल्ली फो’, ‘स्वागतम माई दिलपुर’, जस्ता चलचित्रका साथै अन्य लघु चलचित्रहरू पनि निर्देशन गरिसकेका छन् ।

नेपाली समाजमा दह्रो गरी जरा गाडेर बसेको गरिबी, अशिक्षा, बेरोजगारी, पारिवारिक झमेला र सरकारी उदासीनतालाई यस चलचित्रले आफ्नो मुख्य विषयवस्तु बनाएको देखिन्छ ।

चलचित्रमा सौगात मल्लले ‘चन्द्र बहादुर’ को भूमिका निभाएका छन् भने बेनिशा हमालले चन्द्रको श्रीमती अर्थात् ‘तारा’ को भूमिका निभाएकी छन् । त्यसैगरी कलाकार लोकेन्द्र लेखकले फिल्ममा ‘गोल्डेन साहू’ को भूमिका निभाएका छन् । फिल्ममा यिनै पात्रहरूले कथावस्तुलाई अगाडि बढाउने काम गरेका छन् ।

यस्तो छ, चलचित्र ‘सिटामोल’ को कथावस्तु :

यो कहानी हो, जुम्लाका ‘चन्द्र बहादुर’ को । गाउँमा सिटामोल नपाएर झाडापखालाका कारण सानैमा आफ्ना बुबा–आमा गुमाएका चन्द्र बहादुर देशमा क्रान्ति ल्याउने सपना बोकी माओवादी संगठनमा भित्रिन्छन् ।
यस चलचित्रले नेपालमा सरकार र माओवादी बिच भएको १० वर्षे जनयुद्धलाई पनि महत्त्वपूर्ण आख्यानको रूपमा स्थान दिएको छ । उक्त युद्धकै क्रममा गोली लागेर चन्द्रको एउटा खुट्टा नचल्ने हुन्छ । त्यसबीच वि.सं २०६३ सालमा माओवादी र ७ दल बिच शान्ति सम्झौता भएसँगै चन्द्र पनि गाउँ फर्कन्छन् ।

त्यसपछि उनको भेट चलचित्रकी नायिका अर्थात् ‘तारा’ सँग हुन्छ । सानैदेखि गरिबी र अभावमा हुर्किएकी तारा धनी केटासँग बिहे गरेर ‘चिल गाडी’ मा उड्ने सपना देख्दै आएकी हुन्छिन् ।

त्यसैबीच उनले जनयुद्धमा घाइते भएकाहरूलाई सरकारले ४ लाख रुपैयाँ दिने भनी घोषणा गरेको समाचारमा सुन्छिन् ।

उक्त पैसाकै लोभले उनी चन्द्र सँग विवाह सुरिन्छिन् ।

एकदिन ताराकै आग्रहमा चन्द्रले छोराको नामकरण गर्नका लागि गोल्डेन साहुसँग ॠण लिन्छ । तर उक्त ॠण तिर्न नसक्दा तारा र चन्द्र बिच झगडा हुन्छ ।
ताराको फजुल खर्च गर्ने बानिले बिस्तारै उनीहरू गरिबी, बेरोजगारी, र पारिवारिक झमेलामा फस्दै जान्छन् । त्यसैबिच तारा एकदिन घरबाट बेपत्ता हुन्छिन् ।

त्यसपछि के हुन्छ त, कथाले कस्तो मोड लिन्छ, के तारा र चन्द्रको भेट फेरि होला ?, यो सब जान्नको यहाँहरुले चलचित्र नै हेर्नुपर्ने हुन्छ ।

यस्तो छ चलचित्र ‘सिटामोल’ को रिभ्यु :

अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल अभिनीत चलचित्र ‘सिटामोल’ एक सरल कथानक भएको चलचित्र हो । यस चलचित्रले नेपाली समाजमा रहेका भुईँमान्छेहरुको कथालाई टपक्क टिपेर पर्दामा उतारेको छ ।

चलचित्रमा प्रमुख पात्र चन्द्रले भोगका गरिबी, बेरोजगारी, र पारिवारिक झमेलाहरू हाम्रै समाजका विद्यमान समस्या हुन् । जसले गर्दा दर्शकहरूले यस चलचित्रका पात्रहरूसँग आफैलाई रिलेट गरेर हेर्छन् ।
सरल कथानक भएपनि चलचित्रमा भएको डाइलग, इमोसन र पात्रहरूको अभिनयले दर्शकलाई भावुक बनाउँछ । विशेषतः चलचित्रमा अभिनेता सौगात मल्लका साथै बालकलाकारहरुले पनि जीवन्त अभिनय गरेका छन् । उक्त कलाकारहरूको अभिनयले गर्दा नै दर्शकलाई एक जीवन बाचेको महसुस हुन्छ ।

ग्रामीण भु–भागलाई आफ्नो परिवेश बनाएको यस चलचित्रले नेपालको राजनैतिक, आर्थिक र सामाजिक अवस्थालाई पनि खुल्ला रूपमा देखाएको छ । जसले निदाइ रहेको सरकार र जनतालाई झकझक्याउने काम गरेको छ ।
त्यस्तै चलचित्र टेक्निकल पक्षबाट पनि स्ट्रङ हो । अन्य नेपाली चलचित्रहरूमा झैँ यसको स्क्रिन प्ले स्लो छैन । जसकारण चलचित्र हेरिरहँदा दर्शकको ध्यान अन्यत्र जादैँन् । चलचित्रले कथासँगै दर्शकलाई पनि अघि लिएर बढ्न सफल भएको छ ।

विशेषतः चलचित्रका गीतले दर्शकको मन छुन्छ । कथावस्तुको मूल भावलाई व्यक्ति गरेको उक्त गीतहरूले दर्शकको मन जित्न महत्त्वपूर्ण भूमिका खेलेको महसुस छ ।
यसका साथै निर्माण टिमले कथाले मागे अनुसारै जुम्लामा यस चलचित्रको छायांकन गरिएको भए चलचित्र अझ उत्कृष्ट बन्न सक्थ्यो कि भन्ने दर्शकलाई महसुस हुन्छ ।

समग्रमा भन्नुपर्दा चलचित्र सिटामोल गहिरो भावना र सामाजिक सन्देशले भरिएको आम नेपालीहरूले एकपटक हेर्नै पर्ने चलचित्र हो । जहाँ अभिनेता सौगात मल्ल आफ्नो पुरानै शैलीमा फर्केका छन् ।

जसमा सरल कथानक र उत्कृष्ट अभिनय रहेको छ । रुवाउने फिल्म मन पर्ने दर्शकहरूले यो चलचित्र हेर्न सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =