सेण्ट्रल कोष्टमा तीजको रौनक: राजनराज शिवाकोटीको सुमधुर संगीतमा झुम्दै प्रवासी नेपाली

सिड्नी । अष्ट्रेलियाको सुन्दर नगरी सेण्ट्रल कोष्टमा बसोबास गर्ने नेपालीहरूले आफ्नो मौलिक पर्व हरितालिका तीजलाई भव्यताका साथ मनाउने तयारी गरेका छन् । सांस्कृतिक एकता र परम्परागत पहिचानको संरक्षण गर्ने उद्देश्यले सेण्ट्रल कोष्ट नेपलीज कम्युनिटीले आउँदो अगस्ट १६, शनिबारका दिन एक विशेष तीज कार्यक्रमको आयोजना गर्दैछ ।

टग्गरा कम्युनिटी हलमा साँझ ५:३० बजेदेखि सुरु हुने यस कार्यक्रममा नेपालका चर्चित गायक तथा संगीतकार राजनराज शिवाकोटीको विशेष सांगीतिक प्रस्तुति रहनेछ । ‘सुर्के थैली खै’, ‘कुटुमा कुटु’, र ‘गोजीमा दाम छैन’ जस्ता लोकप्रिय गीतहरूबाट लाखौं नेपालीको मन जितेका शिवाकोटीले सेण्ट्रल कोष्टका नेपालीहरूलाई आफ्नो संगीतमा नचाउने अपेक्षा गरिएको छ ।

सेण्ट्रल कोष्ट नेपलीज कम्युनिटीका नवनिर्वाचित अध्यक्ष सन्तोष तिमल्सिनाका अनुसार, यो कार्यक्रम केवल मनोरञ्जनका लागि मात्र नभई प्रवासमा हुर्किरहेको नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्परासँग जोड्ने एक महत्वपूर्ण अवसर पनि हो । ‘हाम्रो उद्देश्य भनेको नेपाली संस्कृति, एकता र सामूहिक सहभागितालाई प्रवद्र्धन गर्नु हो,’ अध्यक्ष तिमल्सिनाले भने, ‘यो तीज कार्यक्रम सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको साझा उत्सव बन्नेछ ।’

कार्यक्रममा राजनराज शिवाकोटीको सांगीतिक धमाकाका साथै परम्परागत तीज गीत, सांस्कृतिक नृत्य, र स्वादिष्ट दर भोजको पनि व्यवस्था गरिएको छ । आयोजकहरूले यस कार्यक्रमलाई नेपालीपनको एक अविस्मरणीय उत्सव बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस भव्य कार्यक्रमको मुख्य प्रायोजन गोर्खाज् अटो एण्ड रिपेयरले गरेको छ भने सह-प्रायोजकहरूमा फ्याट चिकेन, बज्जिवोइ, चारकोल चिकेन, इजी फाइनान्स एण्ड मोर्गेज, प्राकन, क्रोइ पार्टनर्स, ब्रञ्च एण्ड ब्र्यु, चौतारा मार्ट, र टिम्बरफ्लोर अष्ट्रेलिया रहेका छन् ।

अष्ट्रेलियाका अन्य शहरहरूमा पनि नेपाली समुदायहरूले तीज पर्वलाई उत्साहका साथ मनाउने गर्दछन् । सेण्ट्रल कोष्टमा हुन लागेको यो कार्यक्रमले पनि सोही भावनालाई आत्मसात गर्दै सबैलाई एकताको सूत्रमा बाँध्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =