रास्वपामा चुनावी सरगर्मी : रुपन्देही-३ को उम्मेदवार बन्न कुसुमले समानुपातिक छाड्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आगामी उपनिर्वाचनको तयारीले राजनीतिक सरगर्मी बढाएको छ । उम्मेदवार बन्नकै लागि पार्टीकी केन्द्रीय सदस्य कुसुम महर्जनले प्रतिनिधि सभाको समानुपातिक सदस्यको बन्द सूचीबाट आफ्नो नाम हटाउन पार्टीमा निवेदन दिएकी छन् ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, महर्जनको निवेदन प्राप्त भइसकेको र मंगलबार बस्ने पार्टी सचिवालय बैठकमा यसबारे छलफल हुनेछ । ‘उहाँको निवेदन आएको छ । आज बस्ने सचिवालय बैठकमा त्यसबारे छलफल हुनेछ । यो एउटा प्रक्रियाको कुरा हो,’ झाले भने ।
नेपालको कानुनी प्रावधानअनुसार समानुपातिकको बन्द सूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवार बन्न पाउँदैन । यही व्यवस्थालाई ध्यानमा राख्दै महर्जनले उपनिर्वाचनमा आफ्नो उम्मेदवारीको बाटो खुला गर्न यो कदम चालेको बताएकी छिन् । महर्जन सिद्धार्थ नगरपालिका-८, रुपन्देहीकी स्थायी बासिन्दा हुन् ।
आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि रास्वपाले साउन ७ गते नै उम्मेदवार बन्न चाहनेहरूका लागि आवेदन आह्वान गरिसकेको छ । उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यको नेतृत्व गर्न रास्वपाले पार्टीका सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इञ्चार्ज विपिनकुमार आचार्यलाई जिम्मेवारी दिएको छ । उनकै नेतृत्वको कार्यदलले उम्मेदवार छनोट सम्बन्धी कार्यविधि तयार पारेको हो ।








