रास्वपाले बोलायो सचिवालय, उपनिर्वाचनदेखि समानुपातिक सूचीबाट नाम हटाउनेसम्मका एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय, बनस्थलीमा दिउँसो ३ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयदेखि पार्टीका आन्तरिक र रणनीतिक योजनाहरूसम्मका महत्त्वपूर्ण एजेन्डाहरूमाथि छलफल हुने भएको हो ।
प्रवक्ता मनिष झाकाअनुसार बैठकले आसन्न रुपन्देही-३ को उपनिर्वाचनको तयारी र त्यसका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रक्रिया अघि बढाउने विषयमा महत्त्वपूर्ण निर्णय लिनेछ । यसका साथै हालै रुपन्देहीमा सम्पन्न संसदीय दलको बैठकको समीक्षा र सुदूरपश्चिम प्रदेशमा देखिएको राजनीतिक समस्या समाधानका लागि गठित कार्यदलको प्रगतिबारे पनि छलफल हुने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन सूचीबाट एक जनाको नाम हटाउने सम्बन्धी निवेदनमाथि छलफल हुनेछ । यद्यपि, कसको नाम हटाउन लागिएको हो भन्नेबारे पार्टीले केही खुलाएको छैन । यसैगरी, पार्टीको अनुशासन आयोगको प्रयोजनका लागि विधानको व्याख्यालाई अनुमोदन गर्ने, विभिन्न विभागका प्रमुखहरू नियुक्त गर्ने र रणनीतिक समूहहरू गठन गर्ने जस्ता आन्तरिक सांगठनिक विषयहरू पनि छलफलमा छन् ।
पार्टीले आफ्ना सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै सञ्चालन गरिरहेको हस्ताक्षर अभियानलाई थप प्रभावकारी बनाउने रणनीति पनि बैठकले तय गर्नेछ । साथै, विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था गर्न सरकारलाई दबाब दिने उद्देश्यले नयाँ अभियान सञ्चालन गर्ने विषयमा पनि छलफल हुने पार्टीले जनाएको छ ।








