चलचित्र ‘जनै हराएको मान्छे’को नयाँ गीत ‘मसूरीको दाना’ सार्वजनिक (भिडिओ)

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरु’ को नयाँ गीत ‘मसूरीको दाना’ सार्वजनिक गरिएको छ । एसडी योगी र अञ्जु पन्तको सुमधुर स्वर रहेको गीतमा एसडी योगीकै संगीत तथा हर्क साउदको शब्द रचना रहेको छ । गीतको भिडियोलाई सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका हुन् ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारहरु विजय बराल, केकी अधिकारी, मिरुना मगर र गौरव पहाडीलाई फिचरिङ गरिएको छ । गीतले चलचित्रको कथासारलाई समेत संकेत गरेको छ, जहाँ पात्रहरुको सम्बन्ध र जीवनका आरोह-अवरोहहरु देखाइएको छ ।

यसअघि चलचित्रमा समावेश ‘आमा’ बोलको गीत सार्वजनिक भैसकेको छ, जसले आमा र छोराको भावनात्मक सम्बन्धको कथालाई प्रस्तुत गरेको थियो । अर्जुन पोखरेलको शब्द, संगीत र स्वरमा रहेको उक्त गीतलाई दर्शकले रुचाएका थिए ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई हिमाल न्यौपानेले निर्देशन गरेका हुन् । कमल न्यौपाने र विमल न्यौपाने निर्माता रहेको चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, शुशांक मैनाली, कविता आले जस्ता कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । भानुभक्त ढकालको कथा, पटकथा तथा संवाद रहेको चलचित्रमा नवीन गुरुङ र कृष्ण परियारको छायांकन छ । 

‘पूर्णबहादुरको सारङ्गी’ जस्तो सफल चलचित्रपछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको चलचित्रलाई यस वर्षको बहुप्रतिक्षित चलचित्रका रूपमा हेरिएको छ । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =