औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक साताभित्र कार्ययोजना लिएर आउन उद्योगमन्त्रीको निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक साताभित्र स्पष्ट कार्ययोजना लिएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका छन् ।

औद्योगिक व्यवस्थापन लिमिटेडको ३८ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले वर्तमान ढिलासुस्ती र प्रभावहीनताप्रति असन्तुष्टि जनाउँदै अबको अवस्था पहिलेजस्तै सह्य नहुने चेतावनी दिए ।

‘म यही मञ्चबाट निर्देशन दिन्छु–औद्योगिक व्यवस्थापन लिमिटेड अबको एक साताभित्र कार्ययोजना लिएर मन्त्रालयमा आइपुग्नुपर्छ । यस्तो ढिलाइ अब स्वीकार्य छैन,’ मन्त्री भण्डारीले भने, ‘देशमा औद्योगिक लहर ल्याउन अब प्रभावकारी कार्यान्वयन जरुरी छ ।’

उद्योगमन्त्री भण्डारीले मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा उद्योग क्षेत्रको योगदान १५ प्रतिशतबाट ५ प्रतिशतमा झर्नु दुःखद भएको उल्लेख गर्दै उद्योग विस्तारका लागि राज्यले ठोस रणनीति अपनाउनुपर्ने आवश्यकता औंल्याए ।

‘अब उद्योगीहरूलाई आमन्त्रण गर्ने वातावरण बनाउनुपर्छ । छिमेकी देशले जस्तो पूर्वाधार बनाएर उद्योगीलाई ठाउँ उपलब्ध गराउने अभ्यास हामीले पनि गर्नुपर्छ,’ उनले भने, ‘एक आकर्षक औद्योगिक क्षेत्र बनाएर उद्योगीहरूलाई भित्र्याउनुपर्छ ।’

उनले औद्योगिक पूर्वाधार विकासमा निजी, सार्वजनिक साझेदारी (एएए) मोडल अपनाउँदै अघि बढ्नुपर्नेमा समेत जोड दिए । ‘एउटा औद्योगिक क्षेत्र बनाउन १० अर्ब लाग्छ भने पनि राज्य पछि हट्न मिल्दैन,’ मन्त्री भण्डारीले भने ।

कार्यक्रममा उनले संसदबाट पारित बजेटको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न औद्योगिक व्यवस्थापन लिमिटेडलाई आह्वान गर्दै अब तालिका बनाएर कार्यान्वयनको चरणमा जानुपर्ने स्पष्ट पारे ।

यस्तै, मन्त्री भण्डारीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सातै प्रदेशमा सात ठूला औद्योगिक पूर्वाधार निर्माणको घोषणा भए पनि एक दशक बितिसक्दा पनि कार्यान्वयनमा नआएकोप्रति गुनासो गरे । ‘शिलान्यास त भयो, तर काम भने प्रक्रियामा अड्किएको छ। अब समय छैन, अघि बढ्नैपर्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =