चलचित्र ‘जनै हराएको मान्छे’ ले पार गर्‍यो १ मिलियन भ्युज

काठमाडौँ । प्रतीक्षित चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजरले १ मिलियन भ्युज पार गरेको छ ।

हिजो मङ्गलवार सार्वजनिक भएको चलचित्रको उक्त टिजरले एक दिनमै १ मिलियन भ्युज पार गरेको हो । यो समाचार तयार पार्दासम्म टिजरले १० लाख ४२ हजार ४ सय बाउन्न भ्युज पाएको छ ।

चलचित्रको उक्त टिजरमा एक साधारण व्यक्तिको विदेश जाने सपना, त्यसका लागि गर्ने संघर्ष र सम्बन्धमा आउने उतारचढावको मार्मिक कथा प्रस्तुत गरेको छ । टिजरमा मुख्य पात्रको रूपमा देखिएका अभिनेता विजय बराल कोरिया जाने सपना बोकेर पुरोहित बुबाको इच्छा विपरीत गाउँबाट सहर पसेको देखाइएको छ ।

सहरको कठिन जीवन, नयाँ प्रेमको उदय र गाउँमा छुटेकी दिदीसँगको भावनात्मक द्वन्द्वले चलचित्रको कथावस्तु गहन रहेको अनुमान लगाउन सकिन्छ । टिजरमा विजयका साथै अभिनेत्री केकी अधिकारी र मिरुना मगर पनि मुख्य भूमिकामा प्रस्तुत छन्, जसले चलचित्रमा त्रिकोणात्मक प्रेमको द्वन्द्व रहने संकेत गरेको छ ।

चलचित्रमा गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

हिमाल न्यौपानेद्वारा निर्देशित यो चलचित्र भानुभक्त ढकालको कथा, पटकथा र संवादमा आधारित छ । पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन हुन् ।

चलचित्र भदौ ६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =