चलचित्र ‘जनै हराएको मान्छे’मा ‘भ्वाइस अफ नेपाल’ विजेता प्रोसेस पाण्डेको इन्ट्री, गाए विशेष गीत

काठमाडौं । प्रतिक्षित चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’सँग ‘भ्वाइस अफ नेपाल’ सिजन ६ का विजेता प्रोसेस पाण्डे जोडिएका छन् । चलचित्रको टिजर सार्वजनिक भएर चर्चा बटुलिरहेकै बेला पाण्डेले मंगलबार चलचित्रका लागि एक विशेष गीत रेकर्ड गराएका हुन् ।

सांगीतिक रियालिटी शोको उपाधि जितेपछि प्रोसेसको यो पहिलो महत्वपूर्ण फिल्मी ‘प्लेब्याक’ हो । निर्माण टिमले दर्शकका लागि ‘सरप्राइज’ स्वरूप उनको स्वरमा गीत रेकर्ड गराएको हो । चलचित्रको कथा र भावलाई अझ गहिराइमा पुर्‍याउने अपेक्षा गरिएको यो गीतले दर्शकको उत्सुकतालाई थप बढाएको छ । यद्यपि, गीतको संगीतकार, गीतकार र गीतको भावबारे निर्माण पक्षले तत्कालका लागि गोप्य राखेको छ ।

मंगलबार नै सार्वजनिक चलचित्रको टिजरले एक साधारण व्यक्तिको विदेश जाने सपना, त्यसका लागि गर्ने संघर्ष र सम्बन्धमा आउने उतारचढावको मार्मिक कथा प्रस्तुत गरेको छ । टिजरमा मुख्य पात्रको रूपमा देखिएका अभिनेता विजय बराल कोरिया जाने सपना बोकेर पुरोहित बुबाको इच्छाविपरीत गाउँबाट सहर पसेको देखाइएको छ ।

सहरको कठिन जीवन, नयाँ प्रेमको उदय र गाउँमा छुटेकी दिदीसँगको भावनात्मक द्वन्द्वले चलचित्रको कथावस्तु गहन रहेको अनुमान लगाउन सकिन्छ । टिजरमा विजयका साथै अभिनेत्री केकी अधिकारी र मिरुना मगर पनि मुख्य भूमिकामा प्रस्तुत छन्, जसले चलचित्रमा त्रिकोणात्मक प्रेमको द्वन्द्व रहने संकेत गरेको छ । चलचित्रमा गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

हिमाल न्यौपानेद्वारा निर्देशित यो चलचित्र भानुभक्त ढकालको कथा, पटकथा र संवादमा आधारित छ । पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन हुन् । चलचित्र भदौ ६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =