जहाँ खेलकुदले समुदायलाई जोड्छ : जर्मनीमा पहिलो नेपाली टेबल टेनिस प्रतियोगिता (तस्बिरहरु)

जर्मनी । जर्मनीमा बसोबास गर्ने नेपाली समुदायलाई खेलकुदको माध्यमबाट एउटै सूत्रमा जोड्ने उद्देश्यका साथ पहिलो पटक आयोजना गरिएको नेपाली टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । जुलाई ६, २०२५ मा फ्राङ्कफर्टस्थित TuS Schwanheim Hall मा आयोजित ‘Where Sports Meet Community’ (जहाँ खेलकुदले समुदायलाई जोड्छ) शीर्षकको यस ऐतिहासिक कार्यक्रममा खेलाडी, आयोजक र दर्शक गरी १०० भन्दा बढी नेपालीहरूको उत्साहजनक उपस्थिति रह्यो ।
कार्यक्रमका मुख्य योजनाकार, हानाउ निवासी डा. सागर खरेलको परिकल्पनाले यो प्रतियोगितालाई मूर्त रूप दिएको हो । स्वास्थ्य क्षेत्रमा कार्यरत डा. खरेलले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुदको महत्त्वलाई उजागर गर्दै समुदायलाई एक ठाउँमा ल्याउने प्रयास गरेका हुन् । ‘यो मेरो लागि केवल एउटा प्रतियोगिता होइन, हृदयबाट आएको परियोजना हो,’ उनले भने, ‘हाम्रो उद्देश्य युवाहरूमा स्वास्थ्य, प्रेरणा, एकता र समुदायको भावना जगाउनु थियो, जहाँ खेल प्रतिस्पर्धा मात्र नभएर जीवन जोड्ने माध्यम बनोस् ।’
प्रतियोगितामा पुरुषतर्फ ४० र महिलातर्फ १० गरी कुल ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । हलभित्र खेलाडीहरूको प्रतिस्पर्धात्मक भावना र बाहिर दर्शकहरूको ताली र हौसलाले माहोल निकै जीवन्त र उल्लासमय बनेको थियो । कार्यक्रममा सहभागी सौरभ साह, सागर तिमिल्सिना, सौरभ हुमागाईं र सागर भट्टराईले यसलाई अनुशासन, मित्रता र उत्साहको एक सशक्त उदाहरणका रूपमा प्रशंसा गरे ।
आयोजक क्लब TuS Schwanheim का सदस्य नरेन्द्र खनालले कार्यक्रम सोचेभन्दा पनि सफल भएकोमा खुसी व्यक्त गरे । ‘हाम्रो नारा ‘Sports meets Community’ लाई यो प्रतियोगिताले पूर्ण रूपमा सार्थक बनाएको छ,’ उनले भने, ‘यसले समुदायका सबैलाई एकै ठाउँमा ल्यायो ।’
निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलहरू पश्चात् प्रतियोगिताका विजेताहरू घोषित भएका थिए। पुरुषतर्फको उपाधि प्रशान्त पाण्डेले आफ्नो पोल्टामा पारे भने आशुतोष मिश्र द्वितीय र मनीष कर्जी तृतीय स्थानमा चित्त बुझाउन सफल भए। त्यसैगरी, महिलातर्फको प्रतिस्पर्धामा समिक्ष्या पोखरेलले प्रथम स्थान हासिल गर्दै च्याम्पियन बनिन् । उनलाई पछ्याउँदै प्रतिक्ष्या पोखरेल द्वितीय र तेरिशा बनेपाली तृतीय स्थानमा रहिन् ।
कार्यक्रमको सफलता पछाडि विभिन्न संघसंस्था तथा सहयोगीहरूको महत्त्वपूर्ण हात थियो। प्रोग्रेसिभ युथ नेपाली संस्था, कुलायन नेपाली क्युइजिन, SmartFinance, मोमोहाउस ८८४८, नेपाल समाज e.V., र Eintracht Nepali e.V. जस्ता प्रायोजकहरूको सहयोगले कार्यक्रमलाई थप ऊर्जा प्रदान गरेको थियो । साथै, TuS Schwanheim क्लबले हल र स्वादिष्ट इम्बिस उपलब्ध गराएर ठूलो सहयोग पुर्याएको थियो ।









