उज्वेकिस्तानसँगको हारले दिएको गहिरो पीडा, एसियन कपको सपना टुट्यो

काठमाडौं । सफलताको अन्तिम ढोकासम्म पुगेर चुक्नु नेपाली महिला फुटबल टोलीका लागि नौलो अनुभव होइन । तर, शनिबार राति उज्वेकिस्तानको मिल्ली रंगशालामा भोगिएको हारले यो पीडा अझै गहिरो बनाएको छ ।

नेपाली महिला टोली उज्वेकिस्तानसँगको टाइब्रेकरमा ४–२ ले पराजित हुँदै एएफसी महिला एसियन कप २०२६ को छनोटबाट बाहिरिएको छ । यससँगै टोलीले फिफा महिला विश्वकप २०२७ र लस एन्जलस ओलम्पिक २०२८ को सम्भावना पनि गुमाएको छ ।

खेलको पहिलो हाफमै ३–१ ले पछि परेको नेपाली टोलीले सावित्रा भण्डारीको ह्याट्रिक मार्फत दोस्रो हाफमा सनसनीपूर्ण पुनरागमन गर्‍यो । निर्धारित ९० मिनेटमा ३–३ को बराबरीपछि खेल टाइब्रेकरमा धकेलियो ।

तर टाइब्रेकरमा नेपाली खेलाडीहरूको मनोबल चुक्यो । कप्तान सावित्राको पहिलो प्रहार बारमा लागेर फर्किँदा दुर्भाग्यले फेरि साथ दिएन । गोलकिपर अन्जना रानामगरले गरेको प्रहार उज्वेक गोलकिपरले सहजै रोकिन् ।

खेलअघि नै उज्वेकिस्तानजस्तो ५१ औं स्थानको टोलीसँग भिड्नुपर्ने दबाब थियो । नेपाल भने फिफा र्याङ्किङमा १०० औं स्थानमा छ । बेल्जियन प्रशिक्षक प्याट्रिक डे वाइल्डको नेतृत्वमा नेपाली टोलीले लाओस (९–०) र श्रीलंकामाथि (८–०) सानदार जित निकालेर आत्मविश्वास बनाएको थियो ।

तर अन्तिम खेलको महत्व, मैदानको दबाब, र उज्वेक खेलाडीहरूको शारीरिक फुर्तिका कारण सुरुआतमा नेपाल धराशायी देखियो ।

गीता राना, समिक्षा घिमिरे र सरस्वती हमालको व्यक्तिगत त्रुटिले पहिलो हाफमै उज्वेकिस्तान ३–१ ले अघि पुग्यो ।

सावित्रा भण्डारीले कप्तानी भूमिका निर्वाह गर्दै दुई हाफमा तीन गोल गरिन् । पहिलो हाफको अन्त्यतिर उज्वेक खेलाडी नोजिमाखोनले रातो कार्ड पाएपछि नेपाल संख्यात्मक रूपमा अघि रह्यो । त्यसको फाइदा उठाउँदै सावित्राले दोस्रो हाफमा दुई गोल थपिन् ।

तर, टाइब्रेकरमा उज्वेकिस्तानले चारवटै प्रहार गोलमा परिणत गर्दा नेपाल फेरि दुर्भाग्यको सिकार बन्यो ।

खेलपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक वाइल्डले नेपाली टोलीको प्रशंसा गरे । ‘यो टोली अब फरक छ, यसको प्रदर्शन बहादुरीपूर्ण थियो,’ उनले भने ।

उनका अनुसार अल्प समयमा देखिएको सुधार आगामी दिनमा अझ प्रगाढ बन्नेछ ।

अन्तिम हारको छायाँमा नेपाली टोलीभित्रको मनोमिलनको अभाव, नेतृत्व विवाद र तयारीको सीमितता पनि छ ।

उज्वेकिस्तान यात्रा अघि ‘कप्तानी कसले गर्ने’ भन्ने विषयमा देखिएको आन्तरिक मनमुटाव टोलीको एकतालाई कमजोर बनाएको थियो । यद्यपि, मैदानमा भने खेलाडीहरूले समर्पण देखाए । तर, सपना फेरि अधुरै रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =