त्रिभुवन विमानस्थलको संरचनाले चाप धान्न सकेन : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संरचनात्मक क्षमताले नधान्ने गरी यात्रुको चाप बढेकाले सेवा प्रवाहमा समस्या देखिएको स्वीकार गरेका छन् । ४५ लाख यात्रुको क्षमता भएको विमानस्थलले वार्षिक ९५ लाख यात्रुलाई सेवा दिनुपर्दा अस्तव्यस्त देखिनु स्वाभाविक भएको उनको भनाइ छ ।

आइतबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले विमानस्थल साँघुरो भएकै कारण यात्रुले लगेजका लागि लामो समय कुर्नुपरेको जस्तो महसुस भएको स्पष्टीकरण दिए । उनले भने, ‘हाम्रो एयरपोर्ट, हाम्रो टर्मिनल सबै साँघुरो अवस्थामा छ । अन्य देशमा जहाजबाट ओर्लिएर लगेज लिने ठाउँसम्म पुग्नै समय लाग्छ, तर हाम्रोमा विमानस्थल सानो भएकाले यात्रु तुरुन्तै आइपुग्छन् । यसले गर्दा लगेज कुर्न धेरै समय लागेको जस्तो देखिन्छ ।’

मन्त्री पाण्डेले विमानस्थलको क्षमता र वास्तविक चापबीचको ठूलो अन्तर औँल्याउँदै भने, ‘यो विमानस्थलले ४५ लाख यात्रुलाई ओहोरदोहोर गराउने क्षमता राख्छ, तर यसपटक ९५ लाख यात्रुले सेवा लिएका छन् । दोब्बरभन्दा बढी चाप धान्नुपरेको अवस्था छ । तथापि, सेवालाई छरितो र प्रभावकारी बनाउन हामी गम्भीर छौँ र आवश्यक पहलकदमी लिनेछौँ ।’

बैठकमा मन्त्री पाण्डेले कैलास–मानसरोवर जाने भारतीय पर्यटकहरूका लागि चिनियाँ दूतावासले पूर्वसूचना बिना नै ‘भेरिफिकेसन’ को नयाँ नियम ल्याउँदा समस्या उत्पन्न भएको जानकारी दिए । सरकारले यस विषयमा चिनियाँ दूतावासको ध्यानाकर्षण गराइसकेको र समाधानका लागि पहल भइरहेको मन्त्री पाण्डेको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =