काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टीका नेतृत्व र कार्यकर्ताहरुलाई विभिन्न विषयमा सचेत गराएका छन् ।
पार्टीको केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै उनले मुख्यतः भ्रष्टाचार, पार्टीको आत्मनिर्भरता र हाइपर सोनिक प्रवृत्तिहरूलाई संबोधन गर्दै आफ्नो विचार प्रस्तुत गरेका हुन् ।
कोइरालाले वर्तमान पार्टी नेतृत्वको प्राथमिक कार्य जनतामा आशा जगाउने रहेको उल्लेख गरेका छन् । उनले पार्टीको केन्द्रीय सरकारमा प्रभावकारी कार्यप्रणालीको महत्वलाई जोड दिएका छन् ।
कोइरालाले भ्रष्टाचारलाई देशको सबैभन्दा ठूलो मुद्दा भएको बताएका छन् । ‘सम्पत्ति छानबिन प्रक्रियालाई प्राथमिकता दिनुपर्नेछ,’ भने । उनले उच्च ओहोदामा रहेका नेताहरू, कर्मचारी र व्यापारिक व्यक्तिहरूसँग जोडिएका भ्रष्टाचारका मामिलाहरूको छानबिनको कार्यविधिमा ध्यान दिनु पर्ने धारणा व्यक्त गरे ।
कोइरालाले पार्टीभित्र फैलिएका ‘हाइपर सोनिक’ प्रवृत्तिहरूको आलोचना गरेका छन् । ‘यो प्रवृत्तिले पार्टीको कार्यकर्ताको सपना भत्काउँछ र नयाँ वातावरण सिर्जना गर्दछ,’ उनले भने । उनले यस प्रकारका प्रवृत्तिहरूलाई नियन्त्रण गर्न पार्टी नेतृत्वलाई कदम चाल्न सुझाए ।
केन्द्रीय सदस्य कोइरालाले कांग्रेस नेता विनोद चौधरीको बारेमा पनि चर्चा गरेका छन् । उनले चौधरीले उच्च स्तरीय राजनीति गर्ने अपेक्षा गरिएपनि त्यस्तो हुन नसकेको बताए । ‘उहाँ एक अब्बल उद्योगपति हुनुहुन्छ र उहाँको योगदान अविस्मरणीय छ,’ उनले भने ‘तर उहाँले जस्तो उच्च स्तरीय राजनीति गर्नु पर्छ भन्ने मेरो अपेक्षा थियो, र उहाँको विरोध गरेको नठानियोस् ।’
उनले कांग्रेस नेता शेखर कोइरालाको नेतृत्वलाई प्रशंसा गरेका छन् । उनले कोइराला पार्टीका एक उदार नेता रहेको बताए ।
उनले शेखरको विचारधाराको सम्मान गर्दै, पार्टीमा एकता र सहयोगको महत्वमा जोड दिए । ‘शेखर कोइराला पार्टीका एक उदार नेता हुन्, जसको कारण आज पार्टी चलाउन सजिलो भएको छ,’ उनले भने ।
कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले केन्द्रीय समिति बैठकमा राखेको धारण जस्ताको तस्तै
श्रीमान सभापतिज्यू,
पदाधिकारीज्यूहरु,
पार्टीका वरिष्ठ नेताज्यूहरु तथा उपस्थित केन्द्रीय सदस्यहरु
१. हाम्रो पार्टीको अहिलेको पहिलो कार्यभार निरस जनतामा आशा जगाउनु हो । यो काम दुई तरिकाले गर्न सकिन्छ । पहिलो तरिका हो, हाम्रा केन्द्र, प्रदेश र स्थानीय सरकारहरुको काम कारवाहीलाई प्रभावकारी बनाएर । मुख्य गरी हामीले केन्द्र सरकारको काम प्रभावकारी बनाउनेमा तत्काल ध्यान केन्द्रीत गर्न आवश्यक छ ।
२. भ्रष्टाचार देशको सबैभन्दा ठूलो मुद्दा हो । यो कुरा हामीले स्वकार गर्नुपर्छ । भ्रष्टाचार नियन्त्रणको प्रस्थान विन्दु सम्पत्ति छानविनलाई बनाउनुपर्छ । अहिलेसम्म उच्च ओहोदामा रहेका नेता, कर्मचारी, ब्यापारी सबैको सम्पत्ति छानबिन गर्नु पर्छ । छानविनको कार्यविधि र मोडालिटीमा हामीले ध्यान केन्द्रीत गर्नुपर्छ ।
उच्च ओहोदामा रहेकाहरु, उनिहरुसंग जोडिएका कैयन फायल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दराजमा थन्किएका छन् । त्यस्ता पेन्डिङमा भएका फाइल खोल्ने बातावरण बनाउनु पर्छ ।
३. नेपालबाट युवाहरु विदेशिए भन्ने चिन्ता हामीलाई छ । तर, स्वदेश फर्कनेहरुको पनि ठूलो संख्या छ । उनीहरुले पूँजी, सीप र अनुभव लिएर फर्किएका छन् । उनीहरुको श्रम, सीप र पूँजी देशभित्र उपयोग गर्ने वातावरण बनाउनुपर्छ । यसका लागि विशेष कार्ययोजना निर्माण गर्ने काममा नेपाली कांग्रेसले अगुवाई गर्नुपर्छ ।
४. निर्वाचनमा हामी माओवादीसँग मिल्यौं । माओवादीले धोका दिएपछि एमालेसँग मिल्यौं । हाम्रो काम नै धोका खाने भयो । धोका नखानका लागि पार्टीलाई आत्मनिर्भर बनाउनुपर्छ । हामीले दूरदर्शिता देखाउन सकेनौं । भविष्य हेरेनौं । नेतृत्वले गल्ती गर्ने अनि कार्यकर्तामाथि कारवाहीको डण्डा बर्साउने ? यो हुँदैन । कांग्रेसको उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिन पाइँदैन । तर, पार्टीलाई धोका दिने गठवन्धन विरुद्ध उम्मेदवार बनेकाहरुलाई कारवाही गर्न हुँदैन । उनीहरुको कारवाही फुकुवा हुनुपर्छ ।
अब म थप केही विषयमा प्रवेश गर्छु ।
५. आजकाल विश्वभरी हाइपर सोनिक मिसाइलको खुब चर्चा छ । नेपाली कांग्रेसका कार्यकर्ताहरुले यस्ता हाइपर सोनिक मिसाइल धेरै पटक देखेका भोगेका छन् । चुनावका बेला एकजना अब्बल मानिस आकाशबाट हाइपर सोनिक मिसाइल जसरी फ्याट्ट झर्छ । उ त्यतिकै झरेको हुँदैन, साथमा टिकट पनि बोकेर झरेको हुन्छ । हाइपर सोनिक मिसाइलले बम बारुद बोकेर झरेको हुन्छ भने हाइपर सोनिक मानिसले चाहिँ टिकट बोकेर झरेको हुन्छ । जिल्लामा, क्षेत्रमा हाइपर सोनिक मानिसले ल्याएको टिकटले बमको जस्तै काम गर्छ । त्यसपछि जिल्लाका कार्यकर्ताहरु हाहाकार मच्चिन्छ । यस्तो धेरैतिर भएको छ ।
हाइपर सोनिक मानिसले टिकटका कैयन दावेदारहरुलाई पाखा लगाइदिन्छ, कार्यकर्ताको सपना भत्काइदिन्छ, नयाँ बातावरण सिर्जना गरिदिन्छ । त्यसपछि हाइपरसोनिक उम्मेदवारले चुनाव लड्छ । जित्यो भने आफ्नै कारणले जितेको भन्छ । भविष्यमा तगारो बन्न सक्ने प्रतिस्पर्धीमाथि कारवाहीको डण्डा चलाउँछ । हार्यो भने त झन् कुरै भएन, आफ्ना कारणले हारेको स्वीकार्दैन, कार्यकर्ताको कारणले हारेको भन्छ र कारवाहीको डण्डा चलाउँछ । ओंठमा जँुगाको रेखा नबस्दैदेखि कांग्रेसमा लागेर युग बिताएको मानिसलाई हाइपरसोनिकले कारवाहीको डण्डा चलाउँछ ।
(अब कांग्रेसले यस्ता हाइपरसोनिक प्रवृत्तिमा अंकुश लगाउनुपर्छ ।)
६. अर्का खाले मानिस हुन्छन् जो पार्टीलाई चन्दा दिएकोमा गर्व गर्छन् । राजनीतिक दललाई चन्दा दिनु राम्रो हो । चन्दा कति पारदर्शी तरिकाले दिइएको छ भन्ने पनि हेक्का राख्नुपर्छ । मैले चन्दा दिएको छु, त्यसैले मलाई नेता मान्नुपर्छ भन्ने दुस्साहस गर्न हुँदैन । मैले चन्दा दिएको छु, त्यसैले मैले जे गरे पनि हुन्छ भन्न हुँदैन । मैले चन्दा दिएको छु त्यसकारण मैले ताकिताकि छानीछानी कारवाहीको डण्डा चलाउँछु भन्न हुँदैन । प्रतिस्पर्धीलाई रोजीरोजी कारवाहीको डण्डा चलाउँछु भन्न हुँदैन ।
वीपी कोइरालाले सुकिलामुकिलाको कुरा गर्नुभएको थियो । यो सबैलाई थाहा भएको कुरा भनेर म समय लिन्नँ । तर, सुकिलामुकिलाले पार्टी कब्जा गरेर इमानदारहरुले संघर्ष गर्नुपर्ने दिन नआओस् । यसमा हामी सचेत हुनैपर्छ ।
मैले प्रवृत्तिको कुरा गरेको हो । अब एउटा नमीठो विषयमा पनि चर्चा गर्न चाहन्छु ।
विनोद चौधरीले आफूलाई अब्बल मानिस भन्नुभयो । वास्तवमा उहाँ अब्बल नै हो । नेपालको औद्योगिक क्षेत्र तथा अर्थतन्त्रमा उहाँको ठूलो योगदान छ । उहाँजस्तो अब्बल मानिस विवादमा पर्नुभएकोमा मलाई दुःख लागेको छ । अब म जे भन्न गइरहेको छु, विनोद चौधरीको विरोध गरेको नठानियोस् । म उहाँको प्रशंसक नै हो । पार्टीको सांसद्का रुपमा उहाँ जति सफल बन्नुहुन्छ, हाम्रो पार्टी त्यति सफल हुन्छ । म फेरि पनि भन्छु, उहाँ अब्बल मानिस हो । यति अब्बल मानिसले अलि हाइ लेभलको स्तरीय राजनीति गर्नुहुन्छ भन्ने मलाई लागेको थियो र अझै पनि लागेको छ ।
विनोद चौधरीका बारेमा शेखर कोइरालाले एउटा प्रश्न उठाउनुभयो, जवाफमा विनोदले आठवटा प्रश्न उठाउनुभयो । शेखर कोइरालालाई संकीर्ण पनि भन्नुभयो । शेखर कोइराला, शेरबहादुर देउवा लगायत हाम्रो पार्टीका नेताहरु संकीर्ण हुनुहुन्थ्यो भने उहाँ अन्तरीक्षबाट टपक्क ओर्लिएर केन्द्रीय सदस्य बन्न पाउनुहुन्नथ्यो । कांग्रेसका कार्यकर्ता संकीर्ण थिए भने उहाँ त्यति राम्रो मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित नै बन्नुहुन्नथ्यो । शेखर कोइराला संकीर्ण व्यक्ति हो भने उहाँले पार्टी सभापति पदमा कसरी ४० प्रतिशत मत ल्याउनुभयो ? उहाँलाई मत दिने सबै संकीर्ण हुन् ? याद राख्नुहोस्, शेखर कोइराला पार्टी सभापति पदका निकटतम प्रतिस्पर्धी हो । कांग्रेसभित्र चुनावमा पराजित हुनेलाई समाप्त पार्ने चलन छैन बरु उच्च कदर गरिन्छ । चुनावमा शेरबहादुर देउवालाई शेखर कोइरालाले हराउन औपचारिक प्रयास गर्नुभएको हो तर शेरबहादुरले जित्नुभयो ।
शेरबहादुर देउवा सभापति बन्नुभएपछि केके भयो ? त्यो पनि हेरौं । अघिल्लो कार्यकालमा पनि देउवा सभापति हुनुहुन्थ्यो । उहाँलाई केन्द्रीय समितिको वैठक चलाउन सजिलो थिएन । टेबल ठोकिन्थ्यो, वैठक चल्न दिइँदैनथ्यो, वैठक बहिष्कार गर्छाैं भनिन्थ्यो । पार्टी चलाउन उहाँलाई धेरै गाह्रो थियो । त्यस अघि सुशील कोइरालाको पालामा पनि पार्टी चलाउन गाह्रो थियो । पहिले पहिले यति सजिलोसँग पार्टी चल्थ्यो ? यति सजिलोसँग वैठक चल्थ्यो ? इतिहासमै यति सजिलोसँग पार्टी चलेको, वैठक चलेको अहिले हो । र, यो सबै निकटतम् प्रतिस्पर्धी शेखर कोइरालाको कारणले हो । विगतमा निकटतम प्रतिस्पर्धीले सभापतिलाई कति दुःख दिन्थे भन्ने सम्झनुहोस् र अहिलेको अवस्था पनि हेर्नुहोस् । यति उदार र सहयोगी शेखर कोइरालालाई संकीर्ण भन्न मिल्छ ? यो कुरा पनि ध्यान दिन अनुरोध छ ।
हाम्रा नेताहरु मानिस हो, अनेक कमजोरी छ तर उहाँहरुमा छुद्रता र संकीर्णता छैन भनेर म ठोकेर भन्न सक्छु । हाम्रा नेताहरुको उदारता नदेख्ने तर संकीर्णता मात्र देख्ने प्रवृत्ति पनि ठिक होइन भन्ने मेरो ठम्याइ छ ।
दिनेश कोइराला
केन्द्रीय सदस्य, नेपाली कांग्रेस