हनिमुन हत्या प्रकरणमा सनसनीपूर्ण मोड, सोनमका दाइ पनि अपराधमा संलग्न

काठमाडौं । मध्य प्रदेशको इन्दौरको चर्चित हनिमुन हत्या प्रकरणले नयाँ र सनसनीपूर्ण मोड लिएको छ । प्रेम, धोका र हत्याको यो घटनामा अब भारतको प्रवर्तन निर्देशनालय (ईडी)ले पनि अनुसन्धान सुरु गरेको छ । हत्याका मुख्य अभियुक्तहरू हवालाको अवैध कारोबारमा संलग्न रहेको खुलासा भएसँगै घटनाको अनुसन्धान वित्तीय अपराधतर्फ सोझिएको हो ।

मेघालय प्रहरीको हिरासतमा रहेका सोनमका प्रेमी तथा हत्याका सह-अभियुक्त राज कुशवाहाले दिएको बयानले घटनाको रहस्य थप गहिरिएको छ । राजले सोनमका दाइ गोविन्द रघुवंशी लामो समयदेखि हवाला कारोबारमा संलग्न रहेको र आफू पनि सोही धन्दामा उनीसँगै काम गर्ने गरेको स्वीकार गरेका छन् । प्रहरीले राजको मोबाइलबाट हवाला लेनदेनका विवरण र कोडवर्डहरू फेला पारेपछि ईडीलाई अनुसन्धानमा सामेल गराइएको हो ।

यो खुलासासँगै मृतक राजा रघुवंशीकी पत्नी सोनमका दाइ गोविन्दमाथि शंकाको सुई तेर्सिएको छ । गोविन्दको श्री बालाजी एक्टरियो नामक प्लाइवुड ल्यामिनेसनको व्यवसाय छ । राजलाई प्रहरीले पक्राउ गरेको स्थान पनि गोविन्दकै गोदाम रहेको खुलेको छ । हवालाको जालो बाहिरिएपछि इन्दौर अपराध शाखाले गोविन्दलाई सोधपुछका लागि बोलाएको छ ।

के थियो घटना ?
इन्दौर निवासी राजा रघुवंशी र सोनमको विवाह गत मे ११ मा भएको थियो । विवाहको १० दिनपछि, मे २१ मा उनीहरू हनिमुन मनाउन मेघालयको शिलोङ पुगेका थिए । तर, मे २३ देखि उनीहरू परिवारसँग सम्पर्कविहीन भए ।

लामो खोजीपछि प्रहरीले जुन २ मा राजाको शव एक पहाडको खोँचमा फेला पारेको थियो । घटनाको १७ दिनपछि, जुन ९ मा सोनम उत्तर प्रदेशको गाजीपुरमा फेला परेपछि हत्याको रहस्यमय पर्दा उघ्रिएको थियो ।

हालसम्म ५ जना पक्राउ
राजाको हत्याको आरोपमा प्रहरीले उनकी पत्नी सोनम, सोनमका प्रेमी राज कुशवाहा र हत्याका लागि भाडामा लिइएका तीन व्यक्ति- आकाश राजपुत, विशाल सिंह चौहान र आनन्दलाई पक्राउ गरिसकेको छ । बिहीबार शिलोङ अदालतले सोनम र राजलाई थप दुई दिन प्रहरी हिरासतमा तथा अन्य तीन जनालाई १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ ।

यस प्रकरणमा सोनमकी एक मिल्ने साथी ‘अलका’ को नाम पनि मुछिएको छ, जसले अनुसन्धानको दायरा अझै फराकिलो हुन सक्ने संकेत गरेको छ । हत्याको पछाडि प्रेम सम्बन्ध मात्र नभई करोडौंको हवाला कारोबार पनि जोडिएपछि यो प्रकरण थप जटिल र रहस्यमय बन्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 14 =