सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई, भुवन दुई स्ट्रोकले पराजित

काठमाडौं । एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।

समग्रमा २१ अण्डर २ सय ६७ को स्कोरमा नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई २ स्ट्रोकले हराउँदै करियरकै उपाधि जितेका हुन् । राहुलले आज ५–अन्डर ६७ को स्कोर गरे ।

राहुलले यो सिजनको दोस्रो उपाधि जिते। यसअघि उनले सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन जितेका थिए ।

समग्रमा १९–अन्डर २ सय ६९ को स्कोरमा भुवन नगरकोटी दोस्रो भए । उनले आज ८–अन्डर ६४ को स्कोर गरे । प्रोतर्फ पहिलो भएका उनले नगद ३ लाख प्राप्त गरे। एमेच्योर सदभाव आचार्य समग्रमा १८–अन्डर २ सय ७० को स्कोरमा तेस्रो भए । उनले आज ५–अन्डर ६७ को स्कोर बनाए । उनी एमेच्योरतर्फ दोस्रो भए ।

साविक विजेता सुवास तामाङ समग्रमा १५–अन्डर २ सय ७३ सहित चौथो भए। उनले आज इभन–पार ७२ स्कोर गरे। प्रोतर्फ उनी दोस्रो हुँदा नगद १ लाख ८५ हजार प्राप्त गरे। भुटानका एमेच्योर निम दोर्जी तामाङ समग्रमा १४–अन्डर २ सय ७४ सहित पाँचौं स्थानमा रहे। उनले आज ६–अन्डर ६६ को उत्कृष्ट स्कोर गरे। एमेच्योरतर्फ उनी तेस्रो भए ।

धरानका प्रो निरज तामाङले आज १–ओभर ७३ स्कोर गरे। समग्रमा १०–अन्डर २ सय ७८ सहित छैटौं भए । प्रोतर्फ तेस्रो भएका उनले १ लाख २५ हजार नगद हात पारे। उनी आगामी सिजनको नम्बर एक खेलाडी बनेका छन्। उनले यो सिजन तीन उपाधिसहित सर्वाधिक ८ लाख ६७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्दै अर्डर अफ मेरिटमा पहिलो भए ।

दिनेश प्रजापति समग्रमा ९–अन्डर २ सय ७९ को स्कोरमा सातौं भए । उनले आज २–अन्डर ७० स्कोर गरे । प्रोतर्फ चौथो हुँदै नगद १ लाख ५ हजार प्राप्त गरे। शुक्रबहादुर राई समग्रमा ८–अन्डर २ सय ८० सहित आठौं भए । आज ५–अन्डर ६७ स्कोर गरे। प्रो तर्फ पाँचौं भएका उनले नगद ९२ हजार हात पारे ।

समग्रमा ३–अन्डर २ सय ८५ को स्कोरमा प्रो सञ्जय लामा र एमेच्योर वाङ्चेन ढोन्डुपले संयुक्तरुपमा नवौं स्थान बाँडे । सञ्जयले इभन–पार ७२ र वाङ्चेनले २–अन्डर ७० मा आजको खेल सकाए। प्रो तर्फ छैटौं भएका सञ्जयले ८४ हजार प्राप्त गरे। यस्तै रवि खड्का, धन बहादुर थापा, जयराम श्रेष्ठ र तोरण विक्रम शाही प्रो तर्फ उत्कृष्ट दशमा रहे ।

तेस्रो दिनका लिडर राहुलले आज फ्रन्ट नाईनमा बोगी रहित ५–अन्डर ३१ स्कोर गरे। उनले पहिलो, तेस्रो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। ११ औं र १२औं होलमा पनि एक–एक सट बचाउँदा २३–अन्डरमा स्कोर पुर्याइसकेका थिए । तर ४–पारको १४औं होलमा डबल बोगी खेप्दा ब्याक नाइन इभन–पार ३६ मा सकाए ।

भुवन नगरकोटीले तेस्रो होलमा इगलको सफलता प्राप्त गरे । चौथो, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दे फ्रन्ट नाइन ५–अन्डर ३१ मा सकाए। यसपछि ११ औं, १२ औं, १५ औं र १७ औं होलमा एक–एक सट बचाए । १४ औं होलको बोगीले ब्याक नाइन ३–अन्डर ३३ मा पूरा गरे ।

सदभावले फ्रन्ट नाइनमा इभन–पार ३६ खेले। तेस्रो होलमा डबल बोगी खेपे । छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक सट खेर फाले। यसपछि १२औं होलमा इगलको सफलता प्राप्त गर्दा ११ औं, १४ औं र १५ औं होलको बर्डीले ब्याक नाइन ५–अन्डर ३१ मा सकाए ।

विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रवि कुमार रायवरम र नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) का अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे ।

एनपिजिएद्वारा आयोजित चार दिने प्रतियोगितामा हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशी रहेको थियो। जहाँ ३७ प्रो र १८ एमेच्योर गरी कुल ५५ गल्फरले सहभागिता जनाएका थिए ।

अब शनिवार प्रो–एम प्रतियोगिता हुनेछ । जहाँ ३० प्रोफेसनल र १२० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =