आम मानिसलाई फाइदा पुग्ने सिद्धान्तमा टेकेर अघि बढिरहने आइएमईका संस्थापकहरुको प्रतिबद्धता
आइएमईको २५ औँ वार्षिकोत्सव

काठमाडौँ । आइएमईका संस्थापक अध्यक्ष चन्द्र प्रसाद ढकालले आइएमईको सफलतामा तीन वटा आधारहरू रहेको बताएका छन् ।
शुक्रवार ललितपुरमा आयोजित आइएमईको २५ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ढकालले आइएमईको सुरुवातमा नाफा मात्रै कमाउने कुरामा ध्यान नदिएर आम मानिसले खोजेको सेवा, सरकारले राखेको प्राथमिकता र व्यवसायको रूपमा अघि बढाउन सकिने तीन वटा मूल सिद्धान्तमा केन्द्रित बनेर सफलता हासिल गर्न सम्भव भएको बताएका हुन् ।

उनले यिनै तीन वटा मुख्य व्यावसायिक सिद्धान्तमा टेकेर आइएमईले रेमिट्यान्सबाट बैंकिङ, बिमा, पर्यटन, सूचना प्रविधि, जलविद्युत् लगायतका क्षेत्रमा लगानी विस्तारमार्फत हजारौँ गुणस्तरीय रोजगारी सृजना गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रमा योगदान गरिरहेको पनि संस्थापक अध्यक्ष ढकालले उल्लेख गरे ।
सो अवसरमा आइएमईका सह-संस्थापक तथा अध्यक्ष हेम राज ढकालले उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट आइएमईले आफ्ना ग्राहकहरूको सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे ।
ढकालले युवाहरूले सूचना प्रविधि क्षेत्रमा नेपालमै बसेर विदेशमा सेवा निर्यातबाट कमाएको रकम सहजै भित्र्याउन डिजिटल रेमिटेन्स पूर्वाधार विस्तारमा प्रोत्साहन गर्न राष्ट्र बैंकको सहयोगको अपेक्षा गरेको पनि बताए । यसै गरी विदेशमा काम गर्न जाने क्रममा युवाहरूले महँगो ब्याज तिरेर ऋण लिन वाद्य हुनु परिरहेको अवस्थाको अन्त्य गर्न आइएमई मार्फत नै सानो कर्जा दिन सकिने व्यवस्था मिलाउन पनि अध्यक्ष ढकालले आग्रह गरे ।

साथै अध्यक्ष ढकालले २५ वर्षको यात्रामा निरन्तर सहयोग गर्ने सेवाग्राहीहरू, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियमनकारी निकायहरू, व्यावसायिक साझेदारहरू, कर्मचारीहरू लगायत सम्पूर्ण शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गरे ।
त्यसै गरी आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई मुख्य कार्यदिशा बनाई आइएमई सेवा प्रदान गरिरहेको बताए । प्रविधिमा भएको विकासलाई आत्मसात् गर्दै थप विविधिकृत सेवाहरूको माध्यमबाट आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिँदै अघि बढ्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरे ।

त्यस्तै सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न आइएमई समूहलाई आग्रह गरेका थिए । गभर्नर पौडेलले प्रविधि विकास र उद्यम विस्तारमा राष्ट्र बैंकले सहजीकरण गर्न तयार रहेको बताएका थिए ।
द्वन्द्वले देश अप्ठ्यारो समयमा रहेको बेला समेत जोखिम मोलेर आइएमई स्थापना भएको स्मरण गर्दै गभर्नर पौडेलले देशलाई अहिले पनि जोखिम लिन सक्ने धेरै उद्यमीहरूको खाँचो रहेको उल्लेख गरे ।
उक्त समारोहमा वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको अन्तर कम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेताहरूलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो । सो समारोहमा नेपाल सरकारका मन्त्रीहरू,राजनीतिज्ञहरू,उच्चपदस्थ कर्मचारीहरू, विभिन्न क्षेत्रका विज्ञहरू सहित आइएमई लिमिटेड तथा आइएमई ग्रुपमा आबद्ध कम्पनीहरूका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, व्यवस्थापन प्रमुखहरू लगायत कर्मचारीहरूको उत्साहजनक उपस्थिति थियो ।









