फ्रान्सलाई हराउँदै स्पेन नेशन्स लिगको फाइनलमा

काठमाडौं । स्पेनले फ्रान्सविरुद्धको थ्रिलर जित्दै युएफा नेशन्स लिगको फाइनलमा स्थान बनाएको छ । बिहीवार राति स्टुटगार्टमा सम्पन्न सेमिफाइनलमा स्पेनले फ्रान्सलाई ५–४ को साँघुरो अन्तरले हराउँदै उपाधि भिडन्तमा पोर्चुगलसँग टक्कर पक्का गरेको हो ।

स्पेनको जितमा १७ वर्षीय युवा स्टार लामिन यामालले दुई गोल गर्दै चम्किएका छन् । बार्सिलोना क्लबका फरवार्ड यामाल यस सिजन विश्व फुटबलकै उत्कृष्त युवा खेलाडीका रूपमा चर्चा बटुलिरहेका छन् । खेलको २२ औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । त्यसको तीन मिनेटमै मिकेल मेरिनोले दोस्रो गोल थपेपछि स्पेन २–० ले अगाडि भयो ।

दोस्रो हाफमा पनि स्पेनको दबदबा कायमै रह्यो । ५४ औं मिनेटमा लामिन यामालले पेनाल्टीमार्फत गोल गर्दै फरक तीन गोलमा पुर्याए । पेनाल्टी फ्रेन्च मिडफिल्डर आद्रिएन राबिओको फाउलपछि मिलेको थियो । ५५ औं मिनेटमा पेड्रीले विलियम्सको पासमा गोल थपे ।

५९ औं मिनेटमा किलियन एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई खेलमा फर्काए । तर ६७ औं मिनेटमा यामालले व्यक्तिगत दोस्रो र टोलीको पाँचौं गोल गरे । तर, त्यहीबेला फ्रान्सले पुनः लय समात्यो । ७६ औं मिनेटमा डेब्यु खेल खेलिरहेका रायान चेर्कीले एमबाप्पेको पासमा २० यार्डबाट भलीमार्फत उत्कृष्ट गोल गरे ।

८४ औं मिनेटमा स्पेनी डिफेन्डर डानी भिभियनले आत्मघाती गोल गरेपछि खेल अझै रोचक बन्यो । इन्ज्युरी समयको तेस्रो मिनेटमा रान्डल कोलो मुआनीले चेर्कीको क्रसमा हेडमार्फत गोल गर्दै फ्रान्सलाई ५–४ मा ल्याए । अन्तिम क्षणसम्म संघर्ष गरे पनि बराबरी गोल गर्न नसक्दा फ्रान्स प्रतियोगिताबाट बाहिरियो ।

स्पेनले अब आइतबार म्युनिखमा हुने फाइनलमा पोर्चुगलसँग उपाधिका लागि भिड्नेछ । तेस्रो स्थानका लागि फ्रान्सले जर्मनीसँग स्टुटगार्टमै प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 18 =