नापोलीले सिरी ए उपाधि उचाल्यो, कोन्टेलाई सफलता

काठमाडौं । नापोलीले घरेलु मैदानमा काग्लियारीमाथि २-० को प्रभावशाली जित निकाल्दै सिरी ए उपाधि आफ्नो नाममा गरेको छ । शुक्रबार भएको यो जितसँगै नापोलीले तीन वर्षको अवधिमा दोस्रो तथा क्लब इतिहासको चौथो पटक इटालियन लिग उपाधि जितेको हो ।
स्कट म्याकटोमिनी र रोमेलु लुकाकु को गोलले नापोलीलाई ऐतिहासिक जित दिलाएको हो । उता, शीर्ष स्थानको प्रतिस्पर्धामा रहेको इन्टर मिलानले कोमोमाथि २-० को जित निकाले पनि उपाधि एक अंकको अन्तरले नापोलीको पोल्टामा पुगेको छ ।
खेलको पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा म्याकटोमिनीले माटेओ पोलितानो को क्रसमा सुनौलो बाइसिकल किकमार्फत गोल गर्दै दर्शकहरूलाई रोमाञ्चित पारे । दोस्रो हाफको छैटौं मिनेटमा लुकाकुले लामो पासमा प्रतिद्वन्द्वी डिफेन्डरलाई पन्छाउँदै गोल गर्दै नापोलीको अग्रता दोब्बर बनाए ।
प्रशिक्षक एन्टोनियो कोन्टे का लागि यो उपाधि विशेष रह्यो । यसअघि युभेन्टस र इन्टर मिलानलाई सिरी ए उपाधि जिताइसकेका कोन्टेले तेस्रो क्लबसँग उपाधि जित्ने कीर्तिमान राखेका छन् ।








