म्यानचेस्टर युनाइटेडलाई हराउँदै १७ वर्षपछि टोटनहम युरोपा लिग च्याम्पियन

काठमाडौं । इंग्लिस क्लब टोटनहम हट्सपरले १७ वर्षपछि ठूलो उपाधि जित्दै युरोपा लिगको ऐतिहासिक सफलता हात पारेको छ । बुधबार राति स्पेनको बिलबाओस्थित सान मामेस स्टेडियममा सम्पन्न फाइनल खेलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्दै युरोपा लिगको उपाधि आफ्नो नाममा लेखाएको हो ।

टोटनहमका लागि ब्रेनन जोन्सनले ४२औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उनको गोलसँगै टोटनहमले युरोपेली प्रतियोगितामा वर्षौँको उपाधि खडेरी अन्त्य गरेको हो ।

यो जितसँगै आलोचनाको घेरामा रहेका टोटनहमका मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लुले आफ्नो दोस्रो सिजनमा ट्रफी जिताउने वाचा पूरा गरेका छन् । खेलअघि ‘म कहिल्यै जोकर बन्ने छैन’ भन्दै आलोचकलाई जवाफ दिएका पोस्टेकोग्लु अब क्लबका ऐतिहासिक प्रशिक्षकको सूचीमा दर्ज भएका छन् । उनी बिल निकोलसन र कीथ बर्किनशलपछि टोटनहमलाई युरोपेली उपाधि जिताउने तेस्रो प्रशिक्षक बनेका छन् ।

यद्यपि उनी अर्को सिजन पनि क्लबमै रहने वा नरहने विषयमा अन्योल कायमै छ । सिजनभर मध्यम प्रदर्शनका कारण आलोचना खेपिरहेको टोटनहमले यस जितसँगै आगामी सिजनका लागि च्याम्पियन्स लिगमा स्थान सुनिश्चित गरेको छ । उपाधिसँगै क्लबले झण्डै १०० मिलियन पाउन्डको आर्थिक लाभसमेत हासिल गर्नेछ ।

अर्कोतर्फ, पराजित म्यानचेस्टर युनाइटेडका प्रशिक्षक रुबेन आमोरिमको रणनीतिलाई आलोचना भइरहेको छ । आक्रमणमा उनले मासन माउन्टलाई अलेहान्द्रो गार्नाचोको सट्टा प्राथमिकता दिनु गलत सावित भयो। कप्तान ब्रुनो फर्नान्डेस पनि प्रभावहीन देखिए ।

दोस्रो हाफमा युनाइटेडले खेलमा फर्कन प्रयास गरे पनि रास्मुस होइलुन्डको हेडर मिकी भ्यान डे भेनेले गोल लाइनबाट क्लियर गरे भने अन्त्यतिर लुक शको हेडर टोटनहमका कीपर भिकारीयोले उत्कृष्ट बचाउ गर्दै जित पक्का गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 5 =