बारपाक फोटो प्रदर्शनी सुरु (तस्बिरहरू)

काठमाडौँ । फोटो पत्रकार प्रकाश चन्द्र तिमिल्सेनाले ‘बारपाक फोटो प्रदर्शनी–२०२५’ को आयोजना गरेका छन् ।
बिहीबार काठमाडौँको नेपाल टुरिजम बोर्डमा पत्रकार तिमिल्सेनाले उक्त फोटो प्रदर्शनीको आयोजना गरेका हुन् ।

वि.सं २०७२ मा गएको ७.६ म्याग्निच्युडको भूकम्पले नेपाललाई तहसनहस पारेको थियो । मध्य नेपालको बारपाक गाउँमा केन्द्रबिन्दु रहेको भूकम्पमा करिब ९,००० जनाले ज्यान गुमाएका थिए भने २२,००० भन्दा बढी घाइते भएका थिए । उक्त महाविपत्तिले २८ लाख नेपालीलाई घरबारविहीन बनाउनुका साथै भौतिक पूर्वाधार, विकास परियोजना र सडकलगायतमा व्यापक क्षति पुर्याएको थियो ।
नेपालका अन्य जिल्लाहरू जस्तै, बारपाकमा पनि पुनर्निर्माण सम्पन्न भएको छ । तर त्यस गाउँको विशिष्ट पहिचानको अभिन्न अंग मानिने परम्परागत ढुङ्गाका घरहरू अब बाकिँ छैनन् । नयाँ बस्तीहरू कंक्रिट र जस्तापाताबाट बनेका छन् ।

विगत एक दशकमा बारपाकले देखेका परिवर्तनहरूलाई नै तस्बिरमा प्रदर्शन गरिएको आयोजकले जनाएको छ । यो प्रदर्शनीले पुनर्निर्माणका चुनौतीहरूलाई पनि दस्तावेजीकरण गर्ने र सामाजिक अनुभवहरू र त्यो गाउँका मानिसहरूले देखाएको लचिलोपनलाई पनि कैद गरेको जनाएको छ ।
आयोजकले पुनर्निर्माणको प्रभावकारितालाई अझ राम्रोसँग प्रदर्शन गर्ने लक्ष्य राखेको बताएको छ । साथै प्रदर्शनीले मध्य नेपालको बारपाक गाउँमा भूकम्पपछिको पुनर्निर्माणलाई स्वदेश र विदेशमा प्रदर्शन गर्ने लक्ष्य पनि जनाएको छ ।
उक्त प्रदर्शनीले बारपाकलाई भूकम्पको केन्द्रबिन्दु पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न मद्दत गर्ने आस राखिएको आयोजकले बताइएका छन् ।
हेर्नुहोस् तस्बिरहरू :









