निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित सङ्घियताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले परम्परागत रूपमै व्यवसायीहरू आफ्नो नाफाको लागि मात्रै कुरा गर्छन् भन्ने दृष्टिकोण रहेको भन्दै उक्त धारणा गलत भएको बताए ।
उनले निजी क्षेत्रलाई हेर्ने र बनाइने धारणालाई परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए । मुलुकको राजश्व वृद्धि, रोजगारी सिर्जना र आम नागरिकलाई दिने सेवा लगायतका क्षेत्रमा निजी क्षेत्रको योगदानलाई ध्यानमा राखेर तीनै सरकारले बजेट ल्याउनुपर्ने पर्ने बताए ।
उनले निजी क्षेत्रको लगानीलाई वृद्धि गर्ने तरिकाले केन्द्र, प्रदेश र स्थानीय तहले बजेटमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
उनले निजी क्षेत्रलाई लगानीको वातावरणको सिर्जना गराउनु आजको प्रमुख आवश्यकता रहेको बताए ।








