चौथो पटक पनि हार्यो रियल म्याड्रिड, बार्सिलोना उपाधि नजिक

काठमाडौं । स्पेनिस ला लिगाको बहुप्रतीक्षित एल क्लासिकोमा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडमाथि ४-३ को रोमाञ्चक जित निकाल्दै सिजनको उपाधितर्फ ठुलो पाइला चालेको छ ।
क्याम्प नोउमा सम्पन्न यो खेलले दर्शकलाई सुरुदेखि अन्त्यसम्म रोमाञ्चित बनायो । खेलको पाँचौँ मिनेटमै रियल म्याड्रिडका सुपरस्टार किलियन एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि १४औँ मिनेटमा दोस्रो गोल थप्दै एम्बाप्पेले रियललाई २-० को बलियो अग्रता दिलाए ।
तर बार्सिलोनाले आफ्नो खेलकला देखाउँदै शानदार पुनरागमन गर्यो। १९औँ मिनेटमा एरिक गार्सियाले गोल गर्दै अन्तर घटाए । त्यसपछि ३२औँ मिनेटमा युवा सनसनी लामिन यमालले प्रभावशाली गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
त्यसको दुई मिनेटपछि राफिन्हाले गोल थप्दै बार्सिलोनालाई पहिलोपटक अग्रता दिलाए । पहिलो हाफको अन्त्यतिर ४५औँ मिनेटमा पुनः राफिन्हाले नै गोल गर्दै बार्सिलोनालाई ४-२ को सशक्त अग्रता दिलाए ।
दोस्रो हाफमा रियल म्याड्रिडले खेलमा फर्कन प्रयास गर्यो । ७०औँ मिनेटमा एम्बाप्पेले ह्याट्रिक पूरा गरे तापनि, थप गोल गर्न नसक्दा रियललाई हार स्वीकार्न बाध्य बनायो ।
यो जितसँगै बार्सिलोनाले लिग तालिकाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग सात अंकको अग्रता बनाएको छ । अब तीन खेल बाँकी रहेका सन्दर्भमा बार्सिलोनाको उपाधि सम्भावना बलियो देखिएको छ । उल्लेखनीय छ, बार्सिलोनाले यो सिजन खेलिएका चारै एल क्लासिकोमा विजय हासिल गर्दै ऐतिहासिक प्रदर्शन गरेको छ ।








